ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका छन् ।
ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुसरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।