एनएसएल आजदेखि, उपाधि विजेताले कम्तिमा ७० लाख पाउने

काठमाडौँ । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तयारी पूरा भएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा एनएसएलका निर्देशक श्रीयान्स कार्कीले प्रतियोगिताको तयारी पूरा भएको र शुक्रबारदेखि प्रतियोगिता सुरु हुने जानकारी दिए । ‘अब हामी दुई दिन टाढा छौँ एनएसएलबाट, सबै तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशी खेलाडीहरु आइसकेका छन् । केही विग नेम पनि छन् । विदेशी कोच पनि छन् । आइकोनिक क्याटेगोरी छन् । त्यमसा पलायन भइसकका खेलाडीहरु पनि फर्किएका छन् । यसले नेपाली फुटबलमा राम्रो माहोल बनाउने अपेक्षा लिएका छौं ।’ निर्देशक कार्कीले भने ।

पहिलो संस्करण कोरोना महामारीका कारण बन्द रंगशालाभित्र सञ्चालन गरिएको एनएसएलमा यस पटक दर्शकलाई उपस्थित भएर नेपाली फुटबलको विकासमा योगदान गर्न पनि निर्देशक कार्कीले विशेष आग्रह गरे । उनले भने ‘विगतको भन्दा हामीले यस पटक राम्रो गर्ने प्रयास गरका छौं, नेपाली फुटबलको विकासमा योगदान गर्नकै लागि आफूहरु यसमा आएका हौं ।’

यसैगरी प्रतियोगितालाई भव्य बनाउनका लागि दशरथ रंगशालामा डीजे र चियर लिडरलाई पनि समावेश गरेको जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने छन् । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । टिकेटिङ पार्टनरका रुपमा आईएमई पे रहेको छ ।

९ टिम सहभागी यो प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा हुने छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् । प्रतियोगिताको उपाधि विजेतालाई कम्तिमा ७० लाख प्रदान गर्ने र अझैं यसमा सबैको साथ र सहयोग (मार्केटिङ) को रहेमा १ करोड पुर्‍याउने लक्ष्य रहेको पनि जानकारी दिए । तर पुरस्कारको राशी घोषणा गर्न भने बाँकी रहेको छ ।

एनएसएलको पत्रकार सम्मेलन अघि प्रतियोगिता खेल्ने टिमका कोच र मार्की खेलाडीले आफ्नो फ्रेन्चाइज क्लबहरुको तयारीबारे जानकारी गराएका थिए । डिफेन्डिङ च्याम्पियन काठमाडौंसहित सबै क्लबले प्रतियोगिताको तयारी राम्रो भए पनि समय भने निकै कम पाएको गुनासो गरेका छन् । नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीहरुका कारण पनि एनएसएलको तयारीका लागि सबै खेलाडीलाई एकै पटक प्रशिक्षण गराउन नसकेको उनीहरुको तर्क थियो ।

नेपालले मंगलबारमात्रै यमनविरुद्ध फिफा विश्वकप छनोटको खेल खेलेकाले सबै खेलाडीहरु एनएसएलका फ्रेन्चाइज क्लबमा आजबाट मात्रै आवद्ध भएका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौं र स्पोर्टिङ इलाम आमने-सामने हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *