उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा सिफारिस
काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ ।
सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथी सिताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो ।
बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । यसलाई लिएर सेना भित्र र बाहिर उनको नेतृत्व क्षमतामाथि प्रश्न खडा भएको छ ।
शर्माले नै पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेको थिए । यद्यपि सरकारी निकायबाट आएको जवाफको आधारमा आफूले पाण्डेको प्रक्रिया अघि बढाएको प्रधानसेनापतिले जवाफ दिँदै आएका छन् ।
सेनाको बोर्ड बैठकले शुक्रबार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकाश पाएसँगै उनको ठाउँमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले समेत यसलाई महत्वका साथ लिइएको हो ।
रथी बढुवाको लाइनमा यसपछि उपरथीहरू निर्मल थापा, सन्तोष ढकाल र बाबुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुस ३ पछि अवकाश पाउने ठाउँमा कसको बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।