आफूलाई यही हुँ भनेर लेबल लगाउन मलाई मनपर्दैन – ई:
‘हामी पोडकास्टमा कुरा गरौँ न’ मैले ई:लाई म्यासेज गरेँ ।
‘हुन्छ गरौँ न।’ उनले सहजै जवाफ दिए ।
उनलाई मैले चिन्न थालेको धेरै समय भइसकेको थियो । कुनै बेला सिंहदरबारमा रातो रङ छ्याप्ने नाम उनकै थियो । तर त्यसपछि उनलाई एक यात्रीको रूपमा चिनेँ । एक सत्याग्रहीको रूपमा चिनेँ । त्यति बेलासम्म उनीसँग प्रत्यक्ष भेट भएको थिएन ।
गएको वर्ष प्रत्यक्ष भेट भयो । त्यसपछि अझै नजिकैबाट चिनेँ । उनले पहिलो चरणमा पटक पटक नेपालको यात्रा गरेपछि लेखेको किताब पढेँ । उनलाई लेखकको रूपमा चिनेँ ।
उनले केही समय पहिला आफ्नो दक्षिण एसिया भ्रमणको बेलामा खिचेका फोटोहरू समेटेर गरेको फोटो प्रदर्शनी हेरेँ । उनलाई फोटोग्राफरको रूपमा चिनेँ । मकालुखबरमा त्यसको रिभ्यु पनि गरेँ ।
त्यसपछि उनले महानगरले सडक नजिकै व्यवसाय गर्ने मानिसहरूको कमजोर व्यवस्थापन गरेको भनी उभिएर गरेको प्रदर्शनको क्रममा भेटेँ । हामी पुग्नासाथ उनले भनेका थिए ‘यो बोल्ने काम गर्दा एक्लो होइने रहेछ ।’
तर उनी लामो समय एक्लै भएनन् । उनलाई साथ दिनेहरू बढे । उनको नजिकै पुगेर उभिनेहरू बढे । उनले बोलेको कुरा समाजको मुद्धा बन्यो । उनको खुट्टाको तस्बिर सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । उनले बोल्दा हुन्छ भन्ने देखाइदिए । मैले त्यस बेला लेख लेखेको थिएँ । त्यसको शीर्षक थियो ‘गल्ती ई:कै हो ।’
उनले त्यसबिचमा धेरै तिर अन्तर्वार्ता दिए । आफूले उठाइरहेको मुद्दाको बारेमा भने । महानगर सबैको लागि हुनुपर्छ भन्ने कुरामा जोड दिए ।
यी सबै कुरा हुँदै गर्दा मलाई भने उनको लेखक व्यक्तित्वको बारेमा कुरा गर्न मन थियो । पोडकास्टमा उनको लेखन यात्रालाई समात्न मन थियो । त्यसैले स्टुडियोमा भेट्नुभन्दा पहिलाको कफी गफमा मैले भने ‘हामी तपाईँको लेखन यात्राको बारेमा नै कुरा गर्छौँ ।’
उनले हुन्छ भने । आफूले दोस्रो चरणको यात्राको बारेमा लेख्न लागेको किताब लेख्न नसकिरहेको कुरा पनि सुनाए । पहिलो किताब लेख्दाको अनुभवसमेत भने ।
तिहार आउनै लागेको थियो । छुट्टी हुनुभन्दा पहिला स्टुडियोमा भेट्यौँ । अनि कुराकानी गर्न थाल्यौँ ।
मैले उनलाई कस्तो कस्तो मान्छे भेटिरहनुभएको छ भनेर कुराकानी थालेँ । ‘म मान्छेहरू भेट्नलाई एकदमै खुल्ला छु ।’ उनले जवाफ दिए ।
अनि हामी उनले लेखेको किताबको प्रसङ्गमा पुग्यौँ । मैले सोधेँ ‘तपाईँले किताब कसरी लेख्नुभयो?’
‘आफूले आफूलाई लेखक हुँ वा फोटोग्राफर हुँ भन्न मलाई अप्ठ्यारो नै लाग्छ ।’ यसो भन्दै उनले मान्छेका विविध पक्षहरू हुन्छन् भन्ने कुरामा जोड दिए । तर मान्छेको आफ्नो आफ्नो बुझ्ने क्षमताअनुसार ती मध्ये एक भनिदिँदा मान्छेलाई सजिलो हुने कुरा पनि भने ।
उनले २०१७ देखि १९ सम्म नेपालका विभिन्न भेगहरूको यात्रा गरेका रहेछन् । लगभग नेपालको साढे तीन फन्को लगाइसकेपछि त्यसको यात्रालाई सम्झिँदै सबै संस्मरणहरू जोडेर किताब निकालेका रहेछन् । भने ‘त्यो अर्लि ट्वान्टिजमा भएको मान्छेले लेखेको भएर कति कुरा इम्याचुअर पनि लाग्ने रहेछ ।’
हामीले यसरी नै कुराकानी गर्दै गयौँ । उनले प्रश्नहरूको जवाफ दिँदै गए । त्यस क्रममा हामीले उनी थवाङ पुग्दाको प्रसङ्ग सम्झियौँ । महानगरलाई सम्झाउन उनले उभिएर गरेको प्रदर्शनलाई पनि छोयौँ । उनको लेख्ने प्रक्रिया कस्तो हो? उनले पहिलो किताब कसरी डिजाइन गरे? जस्ता प्राविधिक र प्राक्टिकल कुराहरू सँगै यात्रामा बोझबिना हिँड्नु वा हतार नगरी हिँड्नु के हो भन्ने जस्ता फिलोसफिकल कुराहरूलाई पनि समेट्यौँ । यो सबै अन्तर्वार्ता तल दिइएको टाइम स्ट्याम्पमा सिधै गएर पढ्न पनि सकिन्छ ।
यो बिचमा मलाई सबैभन्दा मन परेको उनको एउटा जवाफ भने सम्झिहाल्छु । मैले सोधेँ ‘मान्छे किन कुनै ब्यागेज बिना नै हिँड्नुपर्छ होला?’
‘बिना बोझ हिँडे यात्रामा मज्जाले बग्न सकिन्छ ।’ उनले भने । थप अन्तर्वार्ता यहाँ छ ।
0:00 – 0:31 – अन्तर्वार्ताको सुरुवात
0:31 – कस्तो कस्तो मान्छे भेटिरहनुभएको छ? वा जिन्दगीको चरणमा कस्तो कस्तो मान्छे भेट्नुभयो?
1:36 – तपाईँलाई कस्तो मान्छेसँग भेट्दा आफूलाई एकदम मजा आउँछ? [कुरा सुन्ने संवाद]
2:23 – ई: ले लेखेको किताबको प्रसङ्ग । तपाईँले किताब कसरी लेख्नुभयो?
5:57 – तपाईँले किताबमा घुम्दै गएपछि आफ्नो पूर्वाग्रहहरूबारेमा थाहा भयो भन्ने कुरा भन्नुभएको छ । त्यसको बारेमा सुनाउनु न केही । [The importance of listening]
7:13 – सुन्ने कुरा आफूमा कस्तो पाउनुभयो र अरूमा कस्तो पाउनुभयो ? [काठमाडौँ महानगरको अमानवीय व्यवहारको विपक्षमा उभिएको सन्दर्भसहित।]
13:45 – किताबमा तपाईँ थवाङ पुग्नुभएको छ । ढुङ्गामा लेखिएको शहीदको नाम मेटिएको प्रसङ्ग छ । कसैले स्वागत गरेका छन् कसैले छैनन् । अनि तपाईँसँगै देश हुर्किँदै छ । यो सबै कुरालाई एक यात्री र लेखकको रूपमा कसरी हेर्नुभएको छ ?
18:33 – मानिसहरूले हरेक परिवर्तनपछि आशा राखेका छन् । तर त्यो कतै पुगेको छैन जस्तो देख्छ । यो कुरामा तपाईँ के भन्नुहुन्छ? [Watching things from macro to micro level]
21:37 – यात्राको क्रममा देखेका कुराहरू लेख्ने तपाईँको प्रक्रिया के हो?
26:30 – पछि लेखिएको कुरा भएकाले फेरी यात्रा गरेको जस्तो हुन्थ्यो होला । लेखनको लागि अरू के के तरिकाहरू अपनाउनुभयो? [Daily notekeeping]
28:30 – किताब डिजाइन गर्दाको प्रसङ्ग अलिकति सुनौँ न ।
33:27 – ड्राफ्ट लेखिसकेपछि सम्पादन कसरी गर्नुभयो?
36:39 – पहिलो विशेषता: तपाईँको यात्रा वा लेखन वा बुझाई एकदमै मिनिमलिस्ट लाग्छ । यो कुरा कसरी आयो?
37:53 – मान्छे किन कुनै ब्यागेज वा बोझबिना हिँड्नुपर्छ होला? [Travelling without weight]
43:08 – यसलाई थोरै फिलोसफिकल तहमा लैजाँदा हामी पनि धेरै कुरा बोकिरहेका होलाउँ । कुनै पूर्वाग्रह होला । कुनै इगो होला । कुनै अपेक्षा होला । कुनै सपना होला । त्यसले हामीलाई गह्रौँ बनाइरहेको होलाउँ । यसमा केही सोच्नुभएको छ? [The weight of happiness and the concept of money]
47:43 – तपाईँले गर्ने जस्तो यात्रामा समय कसरी काम गर्दो रहेछ? यात्राले के गर्दो रहेछ? [ऋतुहरूमा समय हेर्ने]
50:57 – दोस्रो विशेषता: किताबमा मान्छेको अनुहारहरूको बारेमा कुरा गर्नुभएको छ । यात्राको दौरान भेटेका कस्ता कस्ता अनुहार सम्झिनुहुन्छ? मान्छेको साझा कुरा के रहेछ?
52:51 – तेस्रो विशेषता: तपाईँको किताबमा राजमार्गको कुरा पनि आउँछ । नेपालको राजमार्ग र भारतको राजमार्गमा के फरक रैछ? [India cannot be generalized as a country, No sense of reflection]
57:21 – अहिलेको परिस्थितिसँग पनि यो जोडिन्छ हैन? सुन्दरताको परिभाषामा सबै नअट्ने कसरी भयो?
1:00:47 – यात्राको क्रममा महिला पात्रहरू कस्तो पाउनुभयो? [Against generalization]
1:07:38 – त्यसमा साक्षरताको भूमिका कस्तो पाउनुभयो?
1:07:57 – चौथो विशेषता – फोटो: तपाईँले फोटो कसरी खिच्नुभयो? [Sober content at the time of viral content]
1:13:22 – नेपालमा गरेको यात्राको बारेमा लेख्नु र दक्षिण एसियाको अरू ठाउँको बारेमा लेख्दा स्रोतहरूको सीमितता कस्तो पाउनुभयो?
1:17:33 – हाम्रो समाजले हरेक चिज चाँडो खोजिरहेको छ । तर तपाईँको यात्रामा हतार छैन । तपाईँले जुन माध्यम छान्नुभएको छ त्यसले पनि हतार गर्न दिँदैन । यो समयमा हामीले हतार नगर्नु किन जरुरी छ?
1:23:07 – What makes you happy?
1:25:19 – What makes you sad?
1:25:48 – What makes you worried?
1:28:03 – What makes you hopeful?