आधुनिकतामा समाहित हुँदै काँठ क्षेत्र (फोटोफिचर)
काठमाडौं । सहर बजारदेखि बाहिरको गाउँ-बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो ।
सामान्य बोलीचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो ।
काँठको जनजीवनमा आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु सहर भन्ने गर्दथे । आफ्नो घर गाउँबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरु सहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा सहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो ।
तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन । यो कायापलट भएको केही समय मात्र भयो । काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तनमा समाहित हुन बाध्य बनायो । करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काँठको हरियाली लगभग सकिएको छ । काँठको जग्गा खरिदबिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिदबिक्री भइरहेको छ ।
आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदूषित बनेको छ ।