धनकुटामा वडाध्यक्षलाई भित्र थुनेर घरमा कसले लगायो आगो ?

धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा अज्ञात समूहले आगजनी गरेको छ।

डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाइँको घरमा गएराती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले बताएका छन्।

‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाँईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चाबी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगायौं।

नेपाली कांग्रेसको तर्फबाट गुरागाँई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

घरमा गुरागाँई र उनकी श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर र सबै कपडाहरू एकैठाउँमा थुपारेर आगो सल्काइएको वडाध्यक्ष गुरागाँईले बताएका छन्।

उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ। आगोले तल्लो तलामा रहेका अधिकांश सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीले आगो निभाएका थिए।

आगो कसले लगाएको भन्ने खुलेको छैन। प्रहरी भने सोमबार बिहान मात्रै घटनास्थल पुगेको थियो।आगो कसले लगायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *