एमालेको सङ्कल्प यात्रा : आठौँ दिन कास्कीमा पुग्ने

गण्डकी । नेकपा (एमाले) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ ।

सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

शुक्रवार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए ।

सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । ‘हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ’, गुरुङले भने ‘स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नुहुनेछ ।’

सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इन्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताए ।

सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *