कोप २८ मा नेपालले उठाएका एजेन्डाले विश्वको ध्यान खिच्यो : सचिव खराल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेन्डाहरूले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालको तर्फबाट गरेको सम्बोधन र नेपालले उठाएका एजेन्डाहरूले विश्वको ध्यान खिचेको बताएका हुन् ।

मंगलवार दुबईमा उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप २८ मा नेपालको उपस्थिति र प्रस्तुति सशक्त बन्न गएको बताए ।

उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्सानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरूले सम्मेलनमा सचेत भएर सशक्त ढंगले आफ्नो प्रस्तुति दिएको बताए ।

सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले व्यहोरेको हानी नोक्शानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरूको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताए ।

सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूलाई सो निर्देशन दिएको र काठमाडौं फर्कने बित्तिकै सो कामको तयारीको कामलाई तीव्रताका साथ अघि बढाउने उनको भनाई थियो ।

समान परिवेश भएका देशहरूको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको बताए । उनले समान परिवेश भएका देशहरूको समूह बनाएर काम नगरेसम्म ग्लोबल स्केलमा उपलब्धि हासिल गर्न सजिलो नरहेको बताएका हुन् ।

धेरै प्रभावशाली देशहरूले एकल प्रयासबाट सहायता पाउन सफल भएपनि आर्थिक अवस्था कमजोर भएका देशहरूका लागि एकताबद्ध भई आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले समान अवस्था भएका देशहरूले एउटै गोलमेचमा बसेर र एउटै गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म सहायता पाउने कुरा कठिन रहेको बताए । समान परिवेश भोगिरहेका देशलाई एकताबद्ध बनाएर मेहनत नगर्ने हो भने अवस्था चुनौतीपूर्ण रहेको बताए ।

सचिव खरालले भने ‘हाम्रो भनाइहरू के हो भन्ने बारेमा सम्माननीयज्यूको आमन्त्रणमा संयुक्त राष्ट्र संघका महासचिव पनि नेपाल आएर भ्रमण गरिसकेपछि जलवायु परिवर्तनका लागि हिमाली क्षेत्रको समस्या उजागर भएर आयो । त्यसलाई हामीले क्यापिटलाईज गर्न खोजेका छौं । त्यसलाई हामीले प्रयोग गरेर विश्व समुदायलाई सजग बनाएर यो जलवायु परिवर्तनका कारणले हामीलाई जुन हानि नोक्सानी भएको छ । क्षति भएको छ । त्यसबाट सुविधाहरू हुनुप¥यो । र, यो कुनै एउटा माग्ने हिसाबले नभईकन हक र अधिकारको रुपमा स्थापित हुने कुराको मेकानिज्म हुनुपर्यो भनेर त्यो कुरा यहाँ आइसकेपछि सशक्त रुपमा राख्न सफल भएको अवस्था चाहिँ छ । र, यो अन्तर्राष्ट्रिय माहोल यस्तो छ कि यो अहिले नेपालको भनाइहरू चाहिँ यति धेरै हाईलाइट भएर आएको छ कि धेरैले यसलाई सराहना गर्नु भएको छ । र, अव यसलाई कसरी कन्टिन्यूएशन कसरी गर्ने । आगामी दिनमा नेपालको हिमालको पक्षलाई लिएर अगाडि जाने जुन विषय छ । अझै अगाडि लिएर जाने विषयमा यसको नेतृत्व कसरी गर्ने भन्ने बारेमा एउटा चुनौती छ । नेपालले भावी दिनमा पनि हिमालको विषयलाई उठाएर अथवा माउन्टेन एजेन्डालाई उठाएर माउन्टेनमा परेका समस्याहरूलाई नेगोशिएशनमा उठाएर फाइदा हुने किसिमले आउनु पर्छ । संयन्त्रहरू हुनुपर्छ, फण्डिङहरु हुनु पर्छ । फाईनान्सहरु हुनुपर्छ । टेक्नोलोजी हुनु पर्छ । र, हामीलाई अझै धेरै सुविधाहरू हुनुपर्छ भन्ने कुरालाई चाहिँ आएको छ । र, यो राउण्ड टेबल मिटिङ पनि सम्माननीयज्यूको यहाँले सुन्नु भयो । सम्माननीयज्यूको अध्यक्षता र महासचिवज्यूको प्रमुख आतिथ्यमा भएको थियो । त्यसले पनि एउटा माहोल सृजना गरेको छ । एक प्रकारले भन्नु पर्दा त यो नेपालमय र माउन्टेनमय पनि भएको भनेर पनि भन्न मिल्छ ।, तर यसलाई अझै हामीले क्यापिटलाईज गर्नुपर्ने, अझै यसलाई अगाडि बढाउनुपर्ने चुनौती छ । र, फर्केर गइसकेपछि पनि सम्माननीयज्यूले एउटा निर्देशन दिएर जानु भएको छ–आगामी दिनमा माउन्टेनियस कन्ट्रीहरूको चाहिँ एउटा गोलमेच गर्ने किसिमले डायलग गर्ने किसिमले कार्यक्रम गर्ने पनि भन्नु भएको छ । त्यसको लागि पनि हामीले नेपाल गएर माउण्टेनको आवाजलाई एकताबद्ध गरेर लैजाने गरी माउण्टेनियस देशहरूको गोलमेच सम्मेलन पनि तयारी गर्नुपर्नेछ । त्यो काम हामी गर्छौं पनि । र, समग्रमा भन्नुपर्दा यहाँ हाम्रो उपस्थिति सशक्त छ । सहज छ । चनाखो भएर बसेको छ । आगामी दिनमा हामी यसलाई अझ सशक्त पार्छौँ । समान परिवेश भएका देशहरूको समूह बनाएर काम नगरेसम्म ग्लोबल स्केलमा उपलब्धि हासिल गर्न सजिलो छैन । धेरै प्रभावशाली देशहरूले सिंगल प्रयासले पनि डिसिजन गराउन सफल हुनसक्ला तर अलिकति कमजोर आर्थिक स्थिति भएको र अरु हिसाबले पनि कमजोर अवस्था भएको देशहरूलाई गाह्रो छ । हामी समान अवस्था भएका देशहरूले एउटै गोलमेचमा बसेर एउटा गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म यो सफल हुँदैन । परिवेश भोगिरहेका देशमा एकताबद्ध बनाएर र त्यसलाई अघि बढाएर हाम्रो पक्षमा लिएर आउन मेहनत गर्नुपर्छ, अन्यथा यो चुनौतीपूर्ण छ ।’

सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *