किन बढ्यो सुनको मूल्य ? यस्तो छ कारण

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो ।

सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरू बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ ।

नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरूले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरू बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरूको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए ।

उनले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए ।

उनले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताए ।

उनले विश्वका लगानीकर्ताहरूले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गरे । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले केहि दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए ।

उनले भने ‘विश्वका शक्तिशाली देशहरू युद्धहरूमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु,विश्व व्यापीहरूमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरू फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ । दुई, तीन हप्तामा किन यति धेरै सुनको मूल्यमा वृद्धि भयो भन्दा रुस र युक्रेनको युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा परेको छ भने अमेरिका र चीनबीचको व्यापारिक युद्ध र कोभिडको असर बाँकी रहेको छ । सुनको मूल्यमा उतारचढाव आउनुको मूल कारण प्यालेस्टाइन र इजरायलको युद्ध हो । यस्तो अवस्थामा व्यवसायीहरूले विभिन्न क्षेत्रमा लगाएको लगानी कहाँ लगेर लगाउने भन्ने चिन्तामा रहेकाले अन्य क्षेत्रमा लगाएको लगानी अब सुनमा लगाउन थालेका छन् । सुरक्षित लगानी भनेकै सुनमा रहेको भन्ने विश्वासले सुनमा लगानी बढेको छ । विश्वको सुरक्षित लगानी भनेकै सुनमा भएको विश्वास बढेकाले सुनको मूल्य उच्च रुपमा बढेको हो । अमेरिकी फेडरल रिजर्व बैंकले कहीँ दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णय पछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाएकाले पनि सुनको मूल्य बढ्यो । अहिले विगतमा सस्तोमा किनेको सुन मूल्यवृद्धि भएको बेला बेचेर नाफा कमाउनको लागि विश्वभर नै सुन बेच्न ल्याएको कारण आज विश्व बजारमा सुनको मूल्य घट्यो । बजारमा सुन किन्न आउने भन्दा पनि बेच्न आउनेहरूको सख्या बढ्यो । त्यसैले माग कम सप्लाई बढी भएकाले आज एकै दिनमा २ हजार ४ सय रुपैयाँ मूल्य घट्यो । नेपाली बजारमा पनि त्यसैको असर देखिएको छ । नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेको थियो । तर अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण केही दिन अघि २० किलो रहेकामा आजसम्म हेर्दा दैनिक १० केजी मात्रै खपत रहेको छ । अहिले किन्ने आउने भन्दा पनि बेच्न आउनेहरूको सुन किन्न पैसा अपुग भइरहेको छ ।’

उनले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताए ।

उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताए । उनले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *