मोहन वैद्यको प्रस्ताव–देशको संकट टार्न अस्थायी संयुक्त सरकार बनाऔं

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीवार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरु असक्षम र संकटग्रस्त बन्दै गएको बताएका हुन् ।
उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताए ।

उनले सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताए ।

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उनले बताए ।

अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पारे ।

उनले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गरे ।
उनले भने – ‘वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा संकटग्रस्त बन्दै गएको प्रष्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्युह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्तालिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् । साथै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने धारणा पनि संसदीय यथास्थितिवादको अभिव्यक्ति बाहेक अरु केही होइन । यो एउटा थप भ्रमजाल मात्र हो । पुरानो संविधानमा टालो हालेर र संशोधन गरेर पनि केही हुँदैन । संकटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गिय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तत्कालिन राजनीतिक कार्यनीति हुनेछ । यो कार्यनीति सहि तथा वस्तुवादी रहेको छ । अस्थायी संयुक्त सरकारका काम के हुन् त ? राजनीतिक प्रतिवेदनमा भनिएको छ, यस सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ । यसप्रकारको कार्यनीतिले एकातर्फ आम जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ ।’

अध्यक्ष वैद्यले राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा भएको भन्दै त्यो यात्रा अस्वीकार्य रहेको बताए ।

त्यस्तै सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेका उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *