सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आगामी अधिवेशनमा पारित हुन्छ : सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित १५ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताएका हुन् ।

सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरू निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।

उनले भने ‘सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनहरूलाई बिर्सिएर पीडितहरूले शान्ति महसुस गर्ने, पीडाको रिलिफ महसुस गर्ने, परिपूरण प्राप्त गर्ने र सही कुराहरू के हो ? यसको समाधान खोज्ने । सत्यको आधारमा जे भएको छ । त्यसलाई लिएर जाने र समानताका साथ समाजलाई अगाडि लिएर जाने कुरामा अझै पनि कानुन पूरा हुने कुरा बाँकी छ । यहाँ केही चर्चाहरू पनि भए सभामुख बुझ्नुपर्यो भनेर । मलाई लाग्छ । हाम्रो संसदले बुझ्नु पर्यो । हाम्रा राजनीतिक दलहरूले बुझ्नु प¥यो । र, हाम्रो दायित्व के हो भन्ने कुरा थाहा पाउनु पर्यो । आज भन्दा १८ वर्ष अगाडि हामीले शान्तिका लागि सहमति गर्यौँ । र, समाजलाई धेरै अगाडि लैजान सक्यौं । तर विविध कारणले गर्दा आधारभुत रुपबाट यसलाई समाधान गर्ने सङ्क्रमणकालीन न्यायको सिद्धान्तको आधारमा ऐनहरू पारित गर्ने र त्यो ऐनहरुलाई कार्यान्वयन गर्ने कुरा अझै पनि अधुरो रहेको छ । म यस अवसरमा के भन्न चाहन्छु भने अहिले संसदको यो पदमा बसिरहेको बेलामा पनि सभामुखको नाताले संसदको कामहरुलाई पूरा गर्नका लागि त्यसमा पनि लामो समयदेखि थाँति रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई पूरा गर्नका लागि प्राथमिकताका साथ खट्ने, असहमतीको बीचमा रहेका राजनीतिक शक्ति, नेता र पक्षहरुका बीचमा अलगअगल र संयुक्त रुपमा भेटघाटहरु गर्ने, छलफल गर्ने र यसलाई टुंग्याउने कुराहरुमा म आफू लागि रहेको कुराहरू म तपाईहरुको अगाडि राख्न चाहन्छु । त्यतिमात्रै होइन अब अहिले त्यो संसदको कानुन तथा न्याय समितिमा छलफल भएर पनि करिव टुंगिन लागेको छ । यसलाई टुंग्याउने अधिकार जनताको सार्वभौमसत्ता सम्पन्न माननीय सदस्यज्युहरु रहनुभएको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसलाई टुंग्याउने अधिकार उहाँहरुले राख्नु हुन्छ । उहाँहरुले यसको गरिमालाई बुझ्नु भएको छ । र, बुझेर छलफल गरिरहनु भएको छ । मलाई विश्वास छ–संसदको आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरुलले सफलता हासिल गर्नु हुनेछ । र, त्यसलाई सफलतापूर्वक टुग्याईसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौं ।’

त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *