लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको काम गर्छौं : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् ।
सोमवार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् ।
उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरू परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए । उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरे ।
अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजिकरण गर्न प्रतिबद्ध रहेको बताए । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए ।
उनले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गरे । उनले नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताए ।
उनले लगानी भित्र्याउनको लागि सरकार नीति र कानुनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए ।
उनले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए ।