मैत्रीपूर्ण फुटसल युवापुस्तालाई उत्साहित तुल्याउन भएको हो : सभामुख

काठमाडौँ । संसद सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।

प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका हुन् भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका हुन् ।

फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताए ।

उनले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताए ।

उनले भने ‘संसद सेवा दिवसमा स्वाभाविक रुपमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताए ।

उनले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताए । उनले नेताहरूले खेलाडीहरूबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताए ।

उनले भने ‘आजको सन्दर्भ संसद सेवा दिवस, संसद सेवा अलग्गै भएको १७ औं संसद सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो । देशको विकासको लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’

त्यस्तै उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरूका लागि महिनामा एक पटक राख्नुपर्ने बताइन् ।

उनले भनिन् ‘सधैँ काम गर्दा मान्छेलाई प्रेसर हुन्छ, टेन्सन हुन्छ । यस्ता कार्यक्रम प्रत्येक महिनामा हुनुपर्छ । वर्षको एकदिन होइन । उत्साह दिनलाई महिनाको एक पटक हुनुपर्छ ।’

उपसभामुख रानाले सधैँ काम गर्नेहरूलाई तनाव हुने भएकाले संसद सदस्यहरूलाई वर्षको एक पटक नभई महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् ।

खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४—० ले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *