सुन तस्करी प्रकरणका अभियुक्तलाई छुटाउने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । भोजपुर घर भई नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई रानीवन बस्ने २१ वर्षीय निरेश चौधरी पक्राउ परेका हुन् ।

उनीहरूले पुर्पक्षको लागि जगन्नाथदेवल थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिने बताएका थिए ।

रेवन्तलाई छुटाइदिन्छु भन्दै उनका बुवा अमरबहादुरबाट पटकपटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको आरोप छ। यसरी पैसा लिएर ठगी गरेको उजुरीपछि ब्युरोले सोमबार दुई जनालाई पक्राउ गरेको हो । राई र चौधरीमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

रेवन्त त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा थिए । उनी विमानस्थलमा कार्यरत रहँदा २०७९ पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा भेपमा सुन लुकाएर ल्याएका थिए ।

भेप जफत भएको र त्यसभित्र सुन रहेको थाहा पाएपछि रेवन्त लगायतले मिलेर सुन चोरी गरेको आरोप छ । उक्त नौ किलो सुन ६ करोड रुपैयाँमा भारतीय व्यापारीलाई बेचेको खुलेको थियो । जसबापत रेवन्तले बैंकमा ६५ लाख र १० लाख रुपैयाँ नगद नै लिएको ब्युरोको अनुसन्धानबाट खुलेको थियो ।

उनीसहित चोरीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले आपराधिक विश्वासघात र सङ्गठित अपराध कसुरमा मुद्दा चलाएको थियो । त्यस कसुरमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

यही मुद्दामा ब्युरोले पूरक अनुसन्धान गरी पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको भन्दै पक्राउ गरेको थियो । हाल उनी पनि पुर्पक्षको लागि थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *