संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका हुन् ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमोजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरू गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए । उनले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।

उनले भने ‘संघीय संसदले बजेट पास गर्छ । यसो हेर्दाखेरि बजेट संघीय संसदले पास गर्छ । अनि संघीय संसदमै बजेट कम भएर सप्ताहव्यापी कार्यक्रम पनि खुम्च्याउनुपर्छ । अध्यक्षले पनि यो भन्छ, अझ विडम्बना त यहाँ हुन्छ । त्यसकारण यसका प्रक्रियागत हिसाबले जब हामी शक्ति पृथकिरणको सिद्धान्तलाई आत्मसात् गरेर नै यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेका छौँ । त्यसमा विधि निर्माण गर्ने, बजेट पास गर्ने यो थलोको बजेट कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखाको जस्तो बनाउनु हुन्न भन्ने कुरालाई ध्यान त दिनुपर्यो नि । यस हिसाबले आजसम्म जे भयो, भयो भोलिका दिनहरूमा संघीय संसदको बजेट संघीय संसदबाट हामीले प्रक्रियाले व्यवस्थापन र सञ्चालन समितिमा बसेर विभिन्न हाम्रा शाखा, महाशाखाहरूको समस्यालाई हेरेर बजेट गरेर त्यो पनि अस्वाभाविक होइन । देशको अर्थतन्त्र हेरेर । तर संसदको अधिवेशनहरू, यसका समितिहरूलाई त चलाउनुपर्यो नि । विधेयकहरूलाई पास गरेर कानुन निर्माण गर्नुपर्यो । त्यसको न्यूनतम लाग्ने खर्चहरूको व्यवस्थापनका लागि जे हामी प्रस्ताव गरेका हुन्छौँ, त्यो प्रस्तावमा संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर पठाउने होइन । संघीय संसदले प्रस्ताव गरे अनुसारको पास गर्नुपर्छ । त्यति गर्यो भने यी सबै समस्याहरू, धेरै गुनासाहरू सुन्नुपर्ने स्थितिमा हुँदैन ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वाभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरू चलाउनका लागि भने आवश्यक बजेट नघटाई दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *