देउवाका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन : महत
काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।
उनले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गरे ।
पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उनको दाबी छ ।
उनले भने– ‘विभागहरुले पनि पूर्णता पाइरहेका छन् । कतिपय विभागहरु बाँकी छन् । त्यसले पनि पूर्णता पाउँछ । अब भ्रातृ संगठनहरुले पनि पूर्णता पाइरहेका छन् । तिनीहरु क्रियाशील छन् । भूकम्पदेखि हरेक क्रियाकलापमा भ्रातृ संगठनहरु क्रियाशील छन् । पार्टी सभापतिजीले गर्दा पार्टी चलायमान भएन भन्नेकुरामा कुनै तुक छैन । उहाँले उदारताकासाथ पार्टी सञ्चालन गरिरहनुभएको छ । केन्द्रिय समितिमा छलफल हुँदा त्यस्तो द्वन्द्व, तिक्तताको अवस्था छैन । सबैको दृष्टिकोण सुनेर उदारतका साथ काम जिम्मेवारी दिनुहुन्छ । पार्टी सभापतिको कारणले यहाँ काम गर्न पाइएन कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरा कुनै सत्यता छैन ।’
प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताए ।