एनएसएल : वीरगञ्जमाथि पोखराको जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले बीरगञ्ज युनाइटेडलाई पराजित गरेको छ ।
खेलको छैटौं मिनेटमा पोखराले अग्रता लिए पनि ११ औ मिनेटमा वीरगञ्जले गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । तर पहिलो हाफको अन्तिम समयमा पोखराले गोल फर्कायो ।
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि पोखरा बिजयी भएको हो ।
जोय आइडुको गोलमा पोखराले छैटौं मिनेटमा अग्रता लिए पनि त्यसको पाँच मिनेटमै वीरगञ्जका अकिन्स के बाफोउरले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
त्यसपछि ४५ औं मिनेटमा पोखराका मोसेस ग्यावाहले गरेको गोल नै पोखराको जितका लागि निर्णायक सावित भयो ।
यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भएपनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।