प्रहरीको जागिर छाडेर दुबई हुँदै रुस पुगेका थिए भरत
काठमाडौँ । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको उतै मृत्यु भएपछि परिवारले कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । जिल्लाको टीकापुर नगरपालिका-१, दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबरपछि आइतबार कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको हो ।
उनी तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । परिवारले शुक्रबार मात्र उनको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरे । यद्यपि भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिएको छैन ।
मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका थिए । शव आउने/नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेको उनले बताए । सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो ।
तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए । नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए । उनीसँग कुराकानी नभएको तीन हप्ता भइसकेको थियो । भरतको खबर सुनेपछि परिवार सम्हालिन सकेको छैन । विक्षिप्त बनेको परिवारलाई छरछिमेक र इष्टमित्रले सान्त्वना दिइरहेका छन् ।
मृतक भरत घरका माइला हुन् । उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी छन् । शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका-६ दर्नाबाट टीकापुर बसाई सरेको हो ।