नक्कली सवारी दर्ता किताब बनाउने दुई जना पक्राउ


काठमाडौँ । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा २ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।
केही व्यक्तिहरूले लिखत किर्ते गरी सवारी दर्ता किताब लगायतका कागजातहरू तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।
उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्बरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरू ४ थान र मोबाइल २ थान बरामद भएको छ ।
उनीहरूलाई लिखत किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
