जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलन गर्छौं : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मंगलवार आईतवारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तत्काल प्रदेशमा रहेका सदस्यहरू फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए ।

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान समेत गरे । समान धारा भएकाहरू मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङदेनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे ।

उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरूमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरू फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ । राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान गरेको छ । समान विचार राख्ने शक्ति र सङ्घसंस्थालाई आफ्नो आफ्नो ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आह्वान गर्दछु । समान धारा भएकाहरूलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौँ ।’

अध्यक्ष लिङदेनले सरकारको एक वर्षे कार्यकाल सुखद नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गीण हिसाबले अधोगतितर्फ गएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *