ओपोकुको ह्याट्रिकमा काठमाडौंमाथि वीरगञ्जको शानदार जित
नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि शानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ ।
खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले गोल गरेका थिए।
३७औं मिनेटमा अग्रता दोब्बर बनाउन अवसर पनि पाएको थियो । वीरगञ्जका दिपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर सोखरुखले हानेको पेनाल्टी वीरगञ्जका किपर दीप कार्कीले रोके।
पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो ।पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले सहजै गोल गरेर टोलीलाई खेलमा फर्काए।
दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए।
५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।
यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।
जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ।
७ खेलबाट ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको वीरगञ्जको शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना कायम छ।