अहिले काँग्रेस वरिष्ठ नेताको बारेमा कसैले चिन्ता लिनु पर्दैन : इन्द्र बानियाँ
काठमाडौँ । नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली काँग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित काँग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतामा पार्टीले कुनैपनि निर्णय नगरेको बताए । उनले बागमती प्रदेशको प्रदेश अधिवेशन विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै आसनग्रहण हुने बताए ।
उनले स्व. गिरिजाप्रसाद कोईरालाले पार्टी एकता हुँदा काँग्रेसको माइन्युटमा नै शेरबहादुर देउवा वरिष्ठ नेता भनेको र त्यसपछि अहिलेका वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोके बाहेक कसैलाई पनि पार्टीको विधानअनुसार वरिष्ठ नेता नतोकिएको स्पष्ट पारे ।
उनले भने ‘नेपाली काँग्रेसको मर्यादाक्रम पार्टीले तय गरेको अहिलेसम्म निर्णय गरेको छैन । हामीले परम्परागत र अहिलेको प्रक्रियालाई हेर्ने हो भने विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै हुनेछ । स्व. गिरिजाप्रसाद कोईरालाले पार्टी एकता हुँदा माइन्युटमा नै मेन्सन गरेर शेरबहादुर देउवा वरिष्ठ नेता भनेको अवस्था थियो । त्यसपछि अहिलेका वर्तमान सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेल, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई भनेको हो । अहिले वरिष्ठको बारेमा कसैले पनि टेन्सन लिनुपर्दैन । काँग्रेसले जे गर्छ, विधि,विधानअनुसार गर्छ । बागमती प्रदेशले वधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउँछ ।’
उनले बागमती प्रदेशले वधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउने स्पष्ट पारे ।