एमाले बाहेकले मुलुक बनाउन सक्दैन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् ।

शनिवार ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गरे । उनले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक ध्रुवीकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक धु्रविकरण अपरिहार्य रहेको बताए ।

उनले भने ‘अब स्वार्थहरूको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ । म तपाईँहरूलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसुकै पार्टीका मान्छे भए पनि अब तपाईँहरूले बुझ्नुपर्दछ । देश जोगाउने हो भने, स्वाधीनता बलियो बनाउने हो भने एमाले रोज्नु पर्दछ भनेर भन्न सक्नुपर्दछ । हिजो को कहाँ थियो भन्ने कुरालाई अब बिर्सिदिऊँ । देश बनाउने हो भने अब राजनीतिक धुब्रीकरण अपरिहार्य छ । हरेक राजनीतिक दलका नेता, कार्यकर्ताहरूको बीचमा पुग्नुस् । देश जोगाउने हो भने एमाले चाहिन्छ । एमाले रोज्नुपर्दछ भनेर अभियान चलाउनुस् । देशको स्वाधीनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं । चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तर्राष्ट्रिय फोरमहरूमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरूको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेन्डालाई, मानवताको एजेन्डालाई उठाउन सक्दैन । त्यो सामर्थ्य एमालेसँग मात्रै छ भन्ने कुरालाई जनताको बीचमा लिएर गएर जनमतलाई ध्रुवीकरण गर्ने काम गरौं । अर्को कुरा तपाईँहरूलाई भन्न चाहन्छु–जनताले विकास खोजेको छ । परिवर्तन खोजेको छ । नेकपा एमालेले समृद्ध नेपालस् सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको नेतृत्व गर्न चाह्यो । आज यो यात्रा अवरुद्ध छ । चाहे हामीले सामाजिक विकासका क्षेत्रमा गर्न खोजेका कामहरु हुन । चाहे पूर्वाधार विकासको क्षेत्रमा गर्न खोजेको कामहरु हुन् । हामीले सांस्कृतिक क्षेत्रमा गर्न खोजेका कामहरु हुन । यी सबै कामहरु रोकिएका छन । जबसम्म ती कामहरूलाई हामी अगाडि बढाउन सक्दैन, तबसम्म मुलुक बन्न सक्दैन । मुलुक बनाउने हो भने आर्थिक–सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनै पर्दछ । त्यो कामको नेतृत्व एमाले बाहेक अरु कुनै पार्टीले गर्न सक्दैन । २ वर्ष हामीले खेर फालिसकेका छौं । अब धेरै समय खेर फाल्न सकिँदैन । त्यस अर्थमा अब हामीले भन्न सक्नुपर्दछ–विकास र समृद्धिका लागि मुलुकमा एमाले नै चाहिन्छ । तपाई विकास र समृद्धिको पक्षमा हुनुहुन्छ भने आउनुहोस् एमालेमा भनेर आह्वान गर्न सक्नु पर्दछ । एमालेलाई बलियो बनाउनु पर्दछ ।’

महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैङ्कहरूले ब्याजदर बढाउनु परेको जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *