किसुनजीले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सके प्रजातन्त्र झनै सुदृढ हुन्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।
आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने बताए । उनले नेता स्व। भट्टराई कुनैपनि बदनामले नछोएको व्यक्ति भएको बताए ।
उनले नेता भट्टराईको खोजीनिती गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।
उनले भने ‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन । उहाँ निर्लोभी, कुनैपनि बदनामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा उहाँको विषयमा खोजीनिती हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा किताबमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ । कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ । हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि र यो अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन् । अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो ।’
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे ।