प्रदेशको समृद्धिका लागि संघीय सरकारसँग जुध्न पनि तयार छौँ : कमलबहादुर शाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताएका छन् ।
उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरू अल्झिन नचाहेको बताए । सोमवार काठमाडौंमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गरे ।
त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाई थियो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्याए । उनले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पारे ।
मुख्यमन्त्री शाहले देश भित्रै लगानीको वातावरण बनाउन सकेमात्रै बाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुट्नुपर्ने तर्क राखे ।
उनले भने ‘सुदूरपश्चिम प्रदेश सरकार विगतमा के भयो, के भएन ? त्यतापट्टी नजाऔँ । तर आजको सुदूरपश्चिम प्रदेश सरकार खुला रूपले खुला हृदयका साथ तपाईँहरूसँगै अगाडि बढ्न चाहन्छ । मेरो आग्रह छ तपाईँहरूलाई । यो परिवेशमा आउनुस् तपाईँहरू । खुट्टा नकमाउनुस् । हामीले सन्देश दिन जरुरी छ कि सुदूरपश्चिमको लगानी सुरक्षित छ । सुदूरपश्चिमको लगानीबाट रिटर्न आउँछ । सुदूरपश्चिममा सम्भावना धेरै छन । सुदूरपश्चिमको सरकारले हामीलाई सपोर्ट गर्छ भन्ने सन्देश दिन जरुरी छ । आज बैङ्किङ सेक्टरका कुराहरू आए । अरु कुराहरू पनि आए । बढी नकारात्मक कुराहरू हुन थाले भन्ने कुराहरू पनि आए । हामी त्यसलाई चिरेर अगाडि बढ्न चाहन्छौं । त्यो मानेमा तपाईँहरूको साथ र सहयोग हामीलाई चाहिएको छ । र हामीले यो सबै कुरालाई बुझेर इन्भेस्टमेन्ट एण्ड डेभलभमेन्ट समिट दुई वटा कुरालाईसँगै जोडेर अघि बढ्न खोजेका छौं । लगानी र विकासलाई सँगसँगै लिएर हामी अगाडि बढ्न चाहन्छौं । हो विभिन्न किसिमका सम्मेलनहरू यो मुलुकमा भएका छन् लगानीका नाममा । प्रदेशमा पनि भएका होलान् । तर तपाईँहरूको सहयोगमा हामी सुदूरपश्चिमको सम्मेलनलाई फरक ढंगले लिन चाहेका छौं । फरक ढंगले प्रस्तुत गर्न चाहेका छौं । र, ठोस कार्यक्रममा साथ हामी अगाडि बढ्न चाहेका छौं । तपाईँहरूलाई लाग्छ सक्छ कि तपाईँहरूका बीचमा अहिले धेरै विषयहरू उठान नभएका हुन सक्छन् । तर ती कुराहरू तपाईँको बीचमा राखेर यो लगानी सम्मेलनमा हामी अगाडि बढ्नेछौँ । त्यसकारणले आदरणीय साथीहरू, सुदूरपश्चिम प्रदेश सम्भावना नै सम्भावनाको खानी हो भन्ने कुरा तपाईँहरू आफैँले भनिराख्नुभएको छ । यसको सदुपयोग गर्ने कुरामा हामी अगाडि बढ्न जरुरी छ । यहाँको सम्भावनाको बारेमा म डिटेल रुपमा यहाँ प्रस्तुत भइन । अघि यहाँ उत्तराखण्ड र युपी पनि कुरा गर्नुभयो । तपाईँहरूको बौद्धिकतालाई, तपाईँहरूको क्षमतालाई, तपाईँहरूको अनुभवलाई सुदूरपश्चिममा टेकाउनुस् । त्यसको वातावरण बनाउन त्यसलाई स्वागत गर्न हामी तयार छौं । यो मेरो निवेदन छ । जबसम्म तपाई हामी उठ्न सकेनौँ, जाग्न सकेनौँ भने अरूलाई हामी जोड्न सक्दैनौँ । अरूलाई जोडन जरुरी छ, तपाई हामी जाग्न जरुरी छ । त्यस मानेमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तपाईँहरूसँग सम्पर्कमा भएका निजी क्षेत्रका हरेक सेक्टरका व्यक्तिहरूसँग तपाईँहरू आफू पनि हातेमालो गर्दै सुदूरपश्चिम सरकारलाई पनि हातेमालो गराउने जिम्मा पनि तपाईँहरूसँग छ । त्यस मानेमा म तपाईँहरू सबैलाई निवेदन गर्न चाहन्छु । तपाई हामी सबै मिलेर अघि बढौँ । म सरकारका तर्फबाट एउटा कुरा तपाईँहरूलाई भन्न चाहन्छु–सुदूरपश्चिमको विकासको सन्दर्भमा संघीय सरकारसँग संवाद गरेर हुन्छ कि खोसेर हुन्छ । सुदूरपश्चिम प्रदेश सरकार अगाडि बढ्न तयार छ आजको मितिमा । हामीले हरेक फोरममा, हरेक बैठकमा हामीले आफ्ना कुराहरू जोडदार रुपमा राखेका छौं । त्यसकारणले तपाईँहरूलाई लाग्न सक्छ कि कतै संघीय, ऐन, कानुन, नियमले हामीलाई समस्या भएको छ भन्ने लाग्न सक्छ । मैले अघि नै भने–पोलिसिका कुराहरूमा पनि, ऐन, नियम, कानुनका कुराहरूमा पनि अब हामी अल्झिनेवाला छैनौँ । हामी प्रष्ट भएर अगाडि बढ्न चाहन्छौं । म त्यो विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु । र, आज हामी संघीय संरचनामा गइसकेपछि प्रदेश संरचनाहरूको निर्माण भइसकेपछि न्यूनतम रुपमा हामीले हाम्रो विकासका लागि, समृद्धिका लागि गर्ने कार्यक्रमहरूमा कसैले पनि अवरोध गर्नुहुँदैन भन्ने मान्यता हामी छौं । कसैले पनि छेक्न पाउनु हुन्न । छेक्नु हुन्न भन्ने मान्यतामा छौं । त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौं । त्यसकारणले मेरो निवेदन छ–तर यो सबैका लागि तपाईँहरूको सहयोग चाहिन्छ । तपाईँहरूको साथविना, तपाईँहरूको सहयोगविना हामी अगाडि बढ्न सक्दैनौँ ।’
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन् । उनले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानुनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन् ।
सांसद राणाले भनिन् ‘विदेशी पर्यटक यहाँ भित्र्याउने, विदेशमा बसेर पनि आफ्नै गाउँठाउँ जान खोज्ने दाजुभाइ–दिदीबहिनीहरूलाई पनि पनि त्यहाँ लैजानका लागि पनि हामीले के–के पोलिसीहरुमा चेन्ज हुनुपर्छ ? कानुन बनाउने प्रक्रियामा ल्याई दिनु हुन अनुरोध गर्न चाहन्छु । धेरै काम गर्न खोज्यौँ भने हामीले सक्दैनौँ । कम्युनिटीलाई फाइदा हुने खालको पर्यटनको विकास गर्नुपर्छ ।’
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत भट्टले भने ‘मुलुकमा लगानी भित्र्याउनका लागि प्रदेश सरकारसँग पनि लगानी बोर्डले सहकार्य गर्छ । बोर्डले सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनमा सहयोग रहन्छ । यसमा सहकार्यका लागि हामी चाँडै निर्णय गर्छौं । मैले यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि हिजो मात्रै कुरा गरेको थिए ।’
प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रुपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताए ।