पोखरालाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा
पोखरालाई हराउँदै साविक उपविजेता धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै धनगढी फाइनलमा पुग्न सफल भएको हो।
पराजित पोखराले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि मौका पाउने छ। एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भोलि मंगलबार भिड्नेछन्।
निर्धारित ९० मिनेटमा १–१ र थप गरिएको ३० मिनेटमा २–२ गोलको बराबरी भएपछि टाइब्रेकरमा धकेलिएको थियो।
धनगढीका रिचार्ड आगेमाङ, फोडे फोफाना, आशिष चौधरी, देवेन्द्र तामाङले पेनाल्टीमा सहजै गोल गरे। अहम्मद हिजाजीको प्रहार पोखराका गोलरक्षकले बचाए।
पोखराका दिनेश राजवंशी, अन्जल महर्जन, सुरज जिउ ठकुरीले गोल गर्दा मोसेस ग्याबा र आयुष घलानको प्रहार बिफल भयो।
त्यसअघि निर्धारित समयमा र अतिरिक्त समयमा पनि दुई पटक अग्रता लिएको पोखराले त्यसलाई बचाउन सकेन। थप समयको ३० औं मिनेटमा मोहम्मद हिजाजीको गोलमा धनगढी २–२ को बराबरीमा फर्किएको थियो।
थप समयको १३ औं मिनेटमा पोखराका लागि स्टेफन कोजो पापा एनोरले दोस्रो पटक अग्रता दिलाएका थिए।
निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएको थियो। खेलको पहिलो हाफमा १–० ले पछि परेको धनगढीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो।
खेलको पाँचौ मिनेटमा नै पोखराले धनगढीविरुद्ध अग्रता बनाएको थियो। मोसेस ग्याबाको कर्नरमा आयुष घलानले अग्रता दिलाएका थिए।