यःमरि पुन्ही र नेवारी जनविश्वास !
काठमाडौं । नेवार समुदायले विशेष महत्त्वका साथ आज (मंगलबार) यःमरि पुन्ही अर्थात् योमरी पूर्णिमा मनाएका छन् । आजको दिन विशेष प्रकारको परिकार यःमरि बनाएर खाने गरिन्छ ।
आजकै दिनलाई काठमाडौं उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने चलन छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।
यःमरि पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार ‘यःमरि’ प्रसादका रुपमा खाने गरिन्छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा रमाइलो गर्दै केटाकेटी, युवायुवती जम्मा भइ यःमरि माग्ने चलन पनि हुन्छ ।
यःमरि पुन्हीमा नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने चलन हुन्छ । आजै नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो पात आकारको ल्होँचामरी बनाइ पूजा गरी चढाउने गरिन्छ ।
यःमरिलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने विश्वास रहिआएको छ । यसरी चढाएको यःमरि ४ दिनपछि प्रसादका रुपमा परिवारमा बाँडेर खाने चलन छ ।
के छ नेवारी जनविश्वास ?
यःमरि पुन्हिे मुख्य आर्कषण नै योमरी हो । यःमरि नेवार समुदायमा प्रचलित एक विशेष परिकार हो । अहिले नेवारमा मात्र नभएर अन्य समूदायमा पनि यसको लोकप्रियता बढ्दै गएको छ ।
यःमरि नेवारी शब्द हो । यो दुई शब्दको योगबाट बनेको हुन्छ । ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’को अर्थ मिठाई हो । यःमरि धानको चामल, तील र चाकुको मिश्रणबाट बनाएको हुन्छ । यःमरिलाई जो कोहिले पनि मन पराउने हुँदा यस परिकारको नाम नै यःमरि रहन गयो ।
चामलको पिठोभित्र चाकु हालेर बनाइने यो परिकारमा कसैकसैले तीलको सट्टा खुवा पनि प्रयोग गरिएको पाइन्छ । नेवार समुदायका अधिकांश खानेकुरा ऋतुसँग जोडिएर बनाइएको हुन्छ । तातो बाफमा बफाएर बनाइने यःमरि जाडो महिनामा खान अत्तिनै उपयुक्त मानिन्छ । यःमरिमा रहेको चामलको पिठोमा कार्बाेहाइड्रेट, चाकुमा ग्लुकोज, तीलमा प्रोटिन जस्ता तत्व पाइन्छ । यसले शरीरलाई ताप र ऊर्जा प्रदान गर्दछ । त्यसकारण जाडो महिनामा योमरी खानु वैज्ञानिक हिसाबले पनि उपयुक्त मानिन्छ ।
यःमरि पूर्णिमाको रातभन्दा अघिल्लो रातलाई वर्षकै सबैभन्दा लामो रात भनिन्छ । नेवारहरूले यस रातमा पनि निद्रा नपुगेको मानिसलाई सबैभन्दा अल्छी व्यक्तित्वका रुपमा चिन्ने गर्दछन् । त्यसकारण यस रातमा नेवार समुदायका मानिस विशेषगरी महिलाहरू रातको ३–४ बजे उठ्छन् र योमरी पकाउने काममा लाग्दछन् । भनिन्छ वर्षको जाडोलाई योमरीको चुच्चोले संकेत गरिन्छ । जाडो बढी भए यःमरिको चुच्चो लामो बनाइन्छ । र कम छ भने यःमरिको चुच्चो पनि अलिक छोटो बनाइन्छ ।
नेवारी किंवदन्ती अनुसार परापूर्वकालमा पनौती नगरलाई पुण्यवती नगर भनिन्थ्यो । त्यँहा सुचेन्द्र वैश्य नाम गरेका व्यक्ति थिए । जसले धेरै दान, धर्म, कर्म गरेका कारण प्रशस्त सम्पत्ति कमाएका थिए । त्यसकारण देवलोकका सबैभन्दा धनी कुबेर गरिब ब्राह्मण बनेर मंसिर शुक्ल पक्षका दिन अर्थात् आजको दिन वैश्यको घरमा कस्तो भोजन खुवाउँछ भनेर हेर्न आए । वैश्यले उनलाई मिठो भोजनले तृप्त गराए । भोजनले तृप्त भएका कारण कुबेर आफ्नो वास्तविक रुपमा फकिएर योमरी बनाएर बिमिरोसहित पूजा गर्नु र ४ दिनमा ढुकुटीमा राख्नु भन्ने सुझाब वैश्यलाई दिए । वैश्यले त्यही अनुुसार गर्दा वैश्यको घरमा झन धेरै धन वृद्धि भएको मान्यता नेवारी समुदायमा छ ।
त्यसैअनुरुप नेवारहरू यस दिनमा पकाएको यःमरिलाई ढुकुटीमा राखी पूजा गर्दछन् र चार दिनपछि छोरीचेलीलाई बोलाएर प्रसाद स्वरुप खुवाउने गर्दछन् । त्यसै किंवदन्ती अनुसार यःमरि पूर्णिमालाई धनदेवी सन्तुष्ट पार्ने दिनको रुपमा पनि चिन्ने गरिएको छ ।