ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी, यस्तो छ कारण
काठमाडौं । विश्व फुटबलको नियमनकारी संस्था फिफाले ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।
फिफाले सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै, यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ । फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।
रियो दि जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा रोड्रिग्वेज र उनका सबै नियुक्तिहरूलाई चुनावमा अनियमितता गरेको आरोपमा बर्खास्त गरेको थियो । उक्त निर्णयविरुद्ध रोड्रिग्वेज फेरि अदालत पुग्दा पुरानै निर्णय सदर भएको थियो ।
फिफाले नयाँ नेतृत्व चयनका लागि हतार नगर्न पनि भनेको छ । फिफाले आफ्ना सदस्यहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्दैन, त्यसैले समस्या समाधान नभएसम्म पाँच पटकको विश्वकप विजेता ब्राजिल निलम्बनमा पर्ने खतरा हुन सक्छ ।