विश्व जलवायु क्षेत्रमा पर्वतीय मुद्दा उठ्नु महत्वपूर्ण : विज्ञ उप्रेती (भिडिओ)
काठमाडौं । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताएका छन् । राजधानीमा आयोजित विश्व जलवायु सम्मेल (कोप-२८)को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोप २८ मा पहिलो हप्तामा अधिकांश सहमति जुट्न नसकेको भएपनि मन्त्रीस्तरीय बैठकबाट भने अधिकांश मुददहरु सहमित भएको बताए । पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र यसबारेमा जिएस्टीको रिपोर्टमै टेक्स्ट भएर आउनुले पर्वतीय मुद्दाहरुको विषय पेचिलो बनेको बताए । पर्वतीय मुद्दाले विशेष स्थान पाउनुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको तर्फबाट उठाइएको विषय प्रमुख कारण रहेको उनको भनाई छ ।
विज्ञ उप्रेतीले भने, ‘यसपालिको कोपको महत्वपूर्ण विषय के हो भने जतिपनि नेगोसिएशन भए, पहिलो हप्तामा भए । पहिलो हप्तामा धेरै कुरामा सहमति जुट्न सकेको थिएन । त्यो सहमति जुट्न नसकेको विषय मिनिस्टर लेभलमा गयो । र अहिले संसारभरका मन्त्रीहरु परिपक्व भएका छन् भन्ने म्यासेज पनि दिएको छ । त्यहाँ मिनिस्टर लेभलबाट धेरै कुरा मिलेर आएको छ । टेक्निकल लेभलमा नमिलेको कुरा मिनिस्टर लेभलमा मिलेको हुनाले विश्व अनुकुलनको जुन लक्ष्य छ, त्यो लक्ष्यमा पनि सहमति भएको कुरा जिएस्टीको १९६ बुँदाको रिपोर्टमा उल्लेख छ । हामीले कराउँदै आएको विषय पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दा हो । त्यो मुद्दा लामो समयदेखि उठेको थियो, तर जिएस्टीको जुन टेक्स्ट, कपको नेगोसिएशनको जुन टेक्स्ट हुन्छ, जसको आधारमा नै कुन देशमा कस्तो खालको जोखिम छ भन्ने छलफल नै नआउने विषय यसपालि टेक्स्टमै आयो । टेक्स्टमा रिकग्नाइज गरेको छ, माउण्टेनको विषय, त्यो रिकग्नाइज हुनुमा एउटा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालको सिभिल सोसाइटी, नेपालको सबै क्षेत्र र प्रबुद्ध व्यक्तिहरुले यहाँहरुले उठाउनुभएको विषयले गर्दा विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्यो । भन्नुको अर्थ के हो भने नेपालको हिमाल जोखिममा छ । जलवायु परिवर्तनको असर हाम्रो हिमालमा पर्छ । हाम्रो वाटर टावर (पानीको श्रोत) पनि हिमाल हो । हिमालमा असर भयो भने त्यसले तल बस्ने जति पनि समुदाय छन्, हाम्रो बस्ती, भौतिक संरचना, नदी सिस्टम सबैमा यसले असर गर्छ । भन्नेकुराको रेकग्नाइज भएको छ ।’
विज्ञ उप्रेतीले कोप २८ मा २०१० मा भएको सम्झौताअनुसार विकासोन्मुख देशलाई सय बिलियन अमेरिकी डलर बराबरको रकम दिन नसकेकोमा दुःख व्यक्त गरेको कुरा महत्वपूर्ण रहेको बताए । उनले १५६ देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरु, ७६० मन्त्रीहरु, ५ सय मेयर, ५० हजार विद्यार्थी र २ सय देशका नेगोसिएटरको प्रतिनिधित्व गर्दै एक लाख जना सहभागी हुनुभएको ब्लु जोन र ५ लाख जना सहभागी हुनुभएको ग्रिन जोन कोप २८ को महत्वपूर्ण विषय बनेको बताए । विश्व जलवायुको आक्रान्तलाई सबैले स्वीकार गर्नु नै महत्वपूर्ण रहेको उनको तर्क छ ।
उनले भने, ‘जलवायु वित्तको परिचालन र वृत्तिलाई एकदमै जोड दिने । यसको लागि पार्टीहरुमा भएको सबैभन्दा महत्वपूर्ण विषय अहिलेसम्म जुन २०१० मा भएको जुन प्रतिवद्धता थियो, २०२० देखि सय बिलियन अमेरिकी डलर बराबरको रकम डेभलपिङ कन्ट्रीमा परिचालन गर्ने र त्यो हुन नसकेकोमा सबै देशहरुले दुःख व्यक्त गरेको कुरा कपको आकर्षणको विषय थियो । १५६ देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरु, ७६० मन्त्रीहरु, ५ सय मेयर, ५० हजार विद्यार्थी र २ सय देशका नेगोसिएटरको प्रतिनिधित्व गर्दै एक लाख जना सहभागी हुनुभएको ब्लु जोन र ५ लाख जना सहभागी हुनुभएको ग्रिन जोन यो कोपको महत्वपूर्ण अर्को विषय थियो । विश्व जलवायुको आक्रान्तलाई सबैले स्वीकार गरेको भन्नेपनि यो बाट देखिन्छ । पेरिस सम्झौतापछिको महत्वपूर्ण जलवायु सम्मेलन भनेको यसपालिको सम्मेलन हो ।’
विज्ञ उप्रेतीले कोप २८ सम्मेलनबाट २०२५ देखि २०३० सम्म आफ्नो अनुकुलनको योजना बुझाउनुपर्ने सहमति भएको बताए । उनले कृषि प्रणालीको बारेमा यसअघि कोपमा स्थान नपाएपनि यस वर्ष भने स्थान पाएको र पूर्वसूचना, स्वास्थ्य क्षेत्रले पनि ठाउँ उल्लेख गरे । सबै क्षेत्रमा जलवायु परिवर्तनले सबै क्षेत्रमा असर गरेको महशुस भएको विज्ञ उप्रेतीको भनाई छ ।