वेस्ट ह्यामसँग आर्सनल स्तब्ध, ब्राइटनले हरायो टोटनह्याम
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए । यो वेस्ट हाम युनाइटेड यस सिजनमा १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ ।
त्यस्तै आर्सनलले भने यो हारपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो यस सिजनमा आर्सनलको तेस्रो हार हो । १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ । आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ । लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शिर्ष स्थानमा रहेको छ ।
त्यसअघि भएको खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरेका थिए भने ज्याक हिन्शेलवूड र पेर्भिस एस्तुपिनानले एक एक गोल गरेका थिए । टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक एक गोल गरेका थिए ।
यो ब्राइटनको यस सिजनमा आठौँ जित हो । यो जितपछि ब्राइटन १९ खेलमा ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा पाँचौं हार हो । १९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ ।