बालकुमारी घटना : न्यायिक छानबिन समिति गठन गर्न मृतकका आफन्तको माग
ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् ।
‘प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्यो, उनीहरूलाई सहिद घोषणा गर्नुपर्यो’, मृतकका आफन्तको माग छ।
यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।
इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।