सन् २०२३ पत्रकारका लागि चुनौतीपूर्ण, नेपालमा प्रेस स्वतन्त्रता हननका ५८ घटना
काठमाडौँ । सन् २०२३ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ । यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५८ वटा घटना घटेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले सन् २०२३ चुनौतीपूर्ण रहेको बताएको हो ।
ती ५८ वटा घटनामा ७४ पुरुष र १३ महिला पत्रकारसहित ५ वटा सञ्चारसंस्था प्रभावित भएका महासंघले जनाएको छ । महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना अभिलेख भएका थिए । जसबाट १३२ पुरुष र १८ महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका थिए ।
महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौति रहेको बताएको छ । ‘सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको छ,’ महासंघले भनेको छ, ‘सन् २०२४ मा महासंघले श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदछ ।’
दल र नेताबाटै मिडियामाथि आरोपमा घटना भएको महासंघको ठहर छ । ‘राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भए,’ महासंघले विज्ञप्तिमा अगाडि भनेको छ, ‘महासंघ राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिवद्ध हुन आग्रह गर्दछ ।’