संघीयता सम्बन्धी कानुन तत्काल निर्माण गर्न काँग्रेसको माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले सङ्घीयतासँग सम्बन्धित कानुनहरू तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि सङ्घीयतासँग सम्बन्धी सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयता सम्बन्धी ऐनहरू तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिए ।

उनले भने ‘संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि नयाँ संविधान अनुरूप संघीयताको कार्यान्वयन सम्बन्धी कानुनहरू निर्माण हुन सकिरहेका छैनन् । संविधान कार्यान्वयन तथा प्रदेश सरकारका क्षेत्राधिकारसँग जोडिएका आवश्यक धेरै कानुनहरू अझै बन्न नसक्दा यसले तीन वटै तहका सरकार सञ्चालनमा असहज भएको छ भने नागरिकका मौलिक हक, अधिकारको कार्यान्वयनमा समेत विलम्ब भइरहेका छन् । यस विषयमा प्रदेश सरकारका तर्फबाट पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएकाले सङ्घीयतासँग जाडिएका संघीयता सम्बन्धी सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐनजस्ता पारित हुने प्रक्रियामा रहेका अविलम्ब पारित गर्न यो बैठक सरकारसँग माग गर्दछ । ’

काँग्रेसले संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानुन निर्माणमा ढिलाइ गर्न नहुने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *