ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताएका छन् ।

आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताएका हुन् ।

उनले नेपालका मौलिक चाडपर्वहरूले नेपालीहरूका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताए । उनले देशको विशेषता र मौलिकताको आत्मसातिकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि बताए ।

उनले भने ‘ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यसको ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवर्द्धन गर्नुपर्दछ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, नीति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गर्न अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र हाम्रो राष्ट्रिय पहिचान पनि हो । यही विशेषतालाई आत्मसात् गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ । नेपाली समाजले विकास गरेका आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरूले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ देशको विशेषता र मौलिकताको आत्मसातिकरण सहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताए । उनले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरूको संगमस्थल भएको उल्लेख पनि गरे ।

उनले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको र सबै संस्कृतिहरूको समन्वयता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।

उनले भने ‘नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरुदण्डको रुपमा आत्मसात् गरेको छ । संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात् गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार बन्न गएको छ । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणको प्रमुख सभ्यताहरूको संगमस्थल पनि हो । यहाँ बसोबास गर्ने सबै जाति, जनजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समन्वयता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो । नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र ल्होसार संस्कृति पनि हो । यो ल्होसार परम्परा विश्वकै सबभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको पाइन्छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वस्थ जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्दछ ।’

प्रधानमन्त्री दाहालले टुँडिखेलमा तमु ल्होसार मनाएकाहरूलाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत गरे । उनले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *