कांग्रेसलाई बलियो बनाउन १५ औं महाधिवेशनको मिति तोकिनुपर्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमितिको बैठकबाट १५औं महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् ।
कांग्रेस यसरी अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन र पार्टीलाई पुरानै अवस्थामा पु¥याउन समयमै १५औं महाधिवेशन गरिनुपर्ने बताएका हुन् ।
अब कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगरिने समेत कोइरालाले बताए ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको पनि बताए ।
’अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनुभएको छ । तर, म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु,’ कोइरालाले भने ।
’प्रधानमन्त्रीले यो कार्यकालमा के–के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललितानिवासको मुद्दा कहाँ पुग्यो ? सुनकाण्ड कहाँ पुग्यो ?’ कोइरालाले प्रश्न गरे ।
सरकारले जनभावना अनुरूप काम गर्न नसकेको भन्दै कोइरालाले सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मुल गर्न, रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।