भारतीय विदेशमन्त्री जयशंकर भोली नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको छ ।
भारतीय विदेश मन्त्रालयले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेश मन्त्री जयशंकर नेपाल जाने उल्लेख गरेको छ ।
दुई दिने भ्रमणका लागि विदेश मन्त्री जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा काठमाडौंमा हुने परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।
साथै विदेश मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।