प्रचण्डलाई फुर्सद छैन, अरूको भर छैन
काठमाडौं । युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आउँदासम्म नेकपा माओवादीसँग एजेण्डाको भारी थियो । तर, बिस्तारै माओवादीले आफ्नो झोलाबाट एजेण्डा चुहिएको पत्तै पाएन । त्यसै कारण पनि माओवादी क्रमशः जनताबाट एक्लिँदै गयो । जनतासँग एक्लिएको अनुभूति गरेपछि माओवादी केन्द्रले भदौ १७ गतेदेखि ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सुरु गरेको थियो । अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए ।
माओवादी केन्द्रले सुरु गरेको सो अभियान मंगलबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर समापन गरियो । यो अभियानपछि पार्टीमा थप उत्साह थपिएको माओवादीका प्रमुख नेताहरू बताउँछन् ।
अभियानको समापन गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने–‘अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ, पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुनः जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।’
उनले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बिचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर पनि गरे । तर, नारामा जनतासँग भनिए पनि यो अभियान कार्यकर्तामै सीमित भएको टिप्पणी भइरहेको छ । यो अभियानको नाम अनुसार काम भएन, अर्थात् जनतासँग माओवादी रूपान्तरण अभियान भनिए पनि जनतासम्मै भने अभियान पुगी नसकेको माओवादी केन्द्रकै नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका प्रदेश तहका एक नेता भन्छन्– ‘नेताहरू टोलसम्मै पुगे, पार्टी कमिटी चलायमान भए । नेताहरू कार्यकर्तापट्टी फर्किने काम सुरु भएता पनि कार्यकर्ता जनता पट्टी भने पुरै फर्किसकेका छैनन् ।’
हुन त, जनतासँगको सम्बन्ध टुटाएको माओवादीलाई यो अभियान सफल हुनु नै उसको लागी ठुलो उपलब्धि हो । माओवादी केन्द्र सत्तामा छ, सो पार्टीका अध्यक्ष प्रधानमन्त्री छन् तर पनि माओवादीको हाल र चाल दुवै परिवर्तन भएको छैन । सङ्कटग्रस्त अवस्थाबाट पार्टीलाई माथि उठाउने विषयमा भने माओवादीको यो अभियानले कत्ति पनि सहयोग नगरेको ती नेताले बताए ।
उनले भने– ‘केन्द्रीय नेताहरूले कार्यकर्ताको कुरै सुन्दैनन् । नेताहरू सबै केन्द्रमै सीमित रहनु र गाउँमा संगठन निर्माण नगर्नुले पनि माओवादीले निर्वाचनमा ठुलो पराजय बेहोर्नुपर्यो र ३२ सिटमा सीमित हुनु पर्यो।’
अभियानको सुरुवातमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि केही वडा र गाउँमा पुगे । तर उनलाई पार्टी र देशको नेतृत्व सम्हाल्नै गाह्रो छ । प्रचण्ड मात्रै होइन, माओवादी केन्द्रका नेता–कार्यकर्ताको सक्रियता पनि देखिएन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती रावल भन्छिन्– ‘पार्टी अध्यक्षलाई फुर्सद छैन, अरूको भर छैन, अभियानमा नेताहरू नै आएनन्, कार्यकर्ता एक्लै कुद्ने कुरा पनि भएन ।’
रावल यो अभियानमा अरुले गरेको नराम्रो कामको विरोध त परै जाओस्, आफूले गरेको राम्रो कामको प्रचार समेत गर्न नसकेको बताउँछिन् ।
यता, अध्यक्ष प्रचण्ड समेत पार्टीको काममा नेताहरूले ध्यान नदिएको गुनासो गर्दै आएका छन् । उनलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले सरकारले गरेका काम जनतामाझ नपुर्याएकोमा गुनासो छ ।
हुन पनि, माओवादीजनहरु सरकारको कामको प्रचार र प्रशंसा गर्न इच्छुक देखिँदैनन् । सँगसँगै सरकारमाथि उठेका कतिपय सवालको प्रतिरक्षा गर्न समेत अग्रसर हुँदैनन् । जस कारण पार्टी मात्रै कमजोर भएको छैन, पार्टीले गरेका कामको समेत जस पाइएको छैन ।
माओवादी केन्द्रका नेता उत्तम थापा अहिले आफ्नो नेतृत्वको सरकारले गरिरहेका लोकप्रिय कामहरूको व्यापक स्वामित्व लिएर माओवादीले अघि बढ्नु पर्ने बताउँछन् । उनी माओवादीको आजको पहिलो चुनौती भनेकै सरकारले गरिरहेका राम्रा कामहरूको सही र दिगो सङ्गठनात्मक रूपान्तरण रहेको बताउँछन् ।
उसो त, ०६२/६३ को आन्दोलनपछि माओवादी निरन्तर जस्तै सरकारमा छ । शक्ति र सत्तामा भइरहने माओवादीले यो मौकालाई व्यापक सदुपयोग गरेर पार्टीलाई पुनः स्थापित गर्न आवश्यक रहेको उनको बुझाइ छ ।
उनी भन्छन्– ‘माओवादीका केही नकारात्मक पक्षहरू पनि छन् जसले पार्टीलाई ठहरावमा राख्न भूमिका निर्वाह गरेको छ । आजको माओवादी आन्दोलनसँग आवश्यकता अनुरूप स्पष्ट वैचारिकी छैन । सधैँ सरकारमा मात्रै होइन, अब माओवादी विचारमा टेकेर जनतामाझ जानुपर्छ ।’