सांसद बरालको प्रश्न– विदेशी पर्यटक भित्र्याउन बोर्डसँग योजना छैन ?
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित योजना नरहेको बताएकी छन् ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले समितिमा प्रश्तुत गरेको कार्यपत्रबाट पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजनामा नरहेको स्पष्ट हुने बताइन् ।
उनले कार्यकारी निर्देशक रेग्मीले आफ्नो कार्यपत्रमा विदेशमा कति अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन् र तिनीहरुले के काम गरिरहेका छन् ? भन्नेबारेमा भन्न नसकेको बताइन् ।
बाहिर रहेर नेपालमा पर्यटक भित्र्यान कसले कति प्रभावकारी काम गर्नसक्छन् भन्नेकुराको व्यवस्थित योजना बनाउन आवश्यक रहेको बताइन् । सांसद बरालले पर्यटन बोर्डले नेपाल आउने पर्यटकहरुले नेपालमा घुम्ने ठाउँहरुको जानकारी लिन कल सेन्टरको व्यवस्था गर्न नसकेको बताइन् । उनले नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्ने बताइन् ।
उनले भनिन् ‘यहाँ अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन्, कतिले कसरी काम गरिरहेका छन् भन्नेकुरा अहिलेको प्रश्तुतीमा कतै आएन । त्यसको मतलव हामी व्यवस्थित रुपमा नेपाल बाहिरबाट नेपाल भित्रिने पर्यटकहरुलाई कसरी ल्याउँछौँ भन्ने कुरामा समृद्ध योजनामा छैनौँ भन्न सक्छौँ । नेपाल र नेपालका कार्यक्रमहरु बेच्ने एजेण्टहरु कोको हुन् र कसले कति प्रभावकारी काम गर्नसक्छन् भन्नेकुराको व्यवस्थित योजना बनाउन आवश्यक छ । आजसम्म पर्यटन बोर्डले विश्वभरबाट फोन गर्ने व्यक्तिलाई सूचना दिन आफैँले इनिसिएशन लिनुपर्छ भनेर आवश्यकता महशुस नगरेको हो की ? आवश्यकता नभएको हो ? एउटा कल सेन्टरको व्यवस्था गरेर नेपाल बाहिरबाट नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्छ ।’
सांसद बरालले काठमाडौं, चितवन, पोखरा र लुम्बिनी भन्दा बाहिर पनि कार्यक्रमहरु गर्नेर पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।