पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गयो : उदय समशेर राणा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताएका छन् ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताए । उनले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवर्द्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ ? भन्दै प्रश्न गरे ।
उनले लण्डनको वर्ल्ड टावर मार्केट टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यस वर्ष हुन नसकेको बारे पर्यटन बोर्डसँग जवाफ माग गरे ।
उनले भने ‘यो पर्यटन बोर्डको उद्देश्य के हो । हामी अलिकति उद्देश्य भन्दा बाहिर गएको छौँ की छैनौँ ? भन्नेकुरामा हामी केन्द्रित हुन जरुरी छ । तपाईँहरूको मापदण्डअनुसार ६० प्रतिशत बजेट टुरिजम प्रमोट गर्नका लागि विदेशमा खर्च गर्नुहुन्छ । त्यो खर्च भएको छ की छैन ? हामीले अहिले लण्डनको वर्ल्ड टावर मार्केट यो टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भयौँ, यसपालि गरेको छैन । किन गरेनौँ । जुन ६० प्रतिशत मिनिमम पैसा प्रमोसनमा खर्च हुनुपर्ने हो, त्यो प्रमोसनमा खर्च नभएर सानोतिनो गाउँमा कहाँ मन्दिर मनाउने वा के गर्ने भन्नेमा गएको छ । ब्युरोकेसी वा पोल्टिकल प्रेसर के हो भएको छ । त्यसलाई हामीले कसरी ट्रयाकल गर्ने । इन्फरमेसन डेस्क केही वर्ष अघिसम्म विमानस्थल, काठमाडौँका तीन वटै दरबार स्क्वायरमा हुन्थे । त्यो अहिले छैन । एयरपोर्टमा इन्फरमेसन डेस्क छ, तर निजीले चलाइरहेको छ । यो इन्फरमेसन डेस्क सरकारी तहबाट पनि हुनुपर्छ ।’
सांसद राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाका तीन वटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको हो ? भन्दै प्रश्न गरे । विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भएपनि सरकारी डेस्क नराख्नुको कारण माग गरे ।