सांसदहरूको आरोप- ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेप्यो’
काठमाडौँ । सांसदहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लगायत अन्य समयमा समेत मधेस केन्द्रित कार्यक्रम र सहुलियत पसल समेत नराखेर हेपेको आरोप लगाएका हुन् ।
सांसदहरूले राज्य सत्ताले मधेसलाई हेर्ने दृष्ट्रिकोणमा जस्तै खाद्य कम्पनीले समेत त्यहीअनुसार हेपेर मधेसमा कुनैपनि कार्यक्रम नराखेको भन्दै आपत्ति जनाए । उनीहरुले सबैभन्दा गरिबी र विपन्नता रहेको मधेसको लागि सहुलियत पसल समेत नराख्नु नराम्रो भएको बताए ।
उनीहरुले खाद्यको भण्डार मधेस प्रदेश हुने तर मधेस केन्द्रित खाद्यले कुनैपनि शब्द समेत नराख्नु ठिक नभएको भन्दै सांसदहरूले मधेस केन्द्रित कार्यक्रम बनाउन आग्रह गरे । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले राज्यसत्ताले हेपेको जस्तै खाद्य कम्पनीले पनि मधेस प्रदेशलाई हेपेको आरोप लगाए ।
उनले नेपालको मधेस प्रदेश ८ जिल्ला करिब ५० प्रतिशत जनसङ्ख्या बस्ने गरेको भन्दै मधेस प्रदेशको नाममा कम्पनी कार्यक्रममा कतै पनि नाम निशाना नभएको भन्दै आक्रोशित भए । उनले कम्पनीबाट वितरण हुने खाद्यान्न नागरिकको लागि धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बिर्तामोड, भैरहवा, संखुवासभा, बुटवल मात्रै हुने तर मधेस प्रदेशको एक ठाउँमा पनि नहुने किन रु भन्दै प्रश्न गरे ।
उनले नेपालको सबै भन्दा बढी उत्पादन हुने ठाउँ मधेस भएको भन्दै मधेसमा धान, गहुँ, उखु उत्पादन हुने बताए । उनले मधेसका जनतालाई सहुलियत चाहिँदैन रु भन्दै प्रश्न गरे । उनले खाद्य कम्पनी नेता र मन्त्रीका आफन्त भर्ती केन्द्र बन्न नहुने बताए ।
उनले भने ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीप्रति मेरो आपत्ति छ । राज्य सत्ता जस्तै कम्पनी पनि त्यस्तै भएको जस्तो लाग्छ । नेपालको मधेस प्रदेश ८ जिल्लामा करिब ५० प्रतिशत जनसङ्ख्या बस्ने गर्छन् । मधेश प्रदेशको नाममा कम्पनीको नाम निशाना छैन । कम्पनीबाट वितरण हुने खाद्यान्न नागरिकको लागि धनगढी, महेन्द्रनगर,नेपालगन्ज, बिर्तामोड, भैरहवा,संखुवासभा, बुटवल मात्रै हुने मधेस प्रदेशको एक ठाउँमा नहुने ? के हो तपाईँहरूको ? गर्न खोजेको के हो तपाईँहरूले ? नेपालको सबै भन्दा बढी उत्पादन हुने ठाउँ मधेस हो । मधेसमा धान,गहुँ,उखु सारा चिज छ । तर खाद्य कम्पनीको एउटा पनि कार्यक्रम मधेसको लागि देखिएन । खोइ मधेसका कुरा, मधेसका जनता होइनन् । मधेशको जनतालाई सरल,सुलभ र गुणस्तरीय पसलहरू चाहिँदैन ? तपाईँहरू सच्याउनुस् । तपाईँहरूले मधेसको लागि पनि कार्यक्रम बनाउनुस् । मेरो गम्भीर आपत्ति छ । राज्य सत्ताले जसरी हेपी रहेको छ मधेसलाई त्यसै गरी खाद्य कम्पनीले पनि हेप्ने ? हामीले तपाईँहरूको सबै समस्या सुनिएको छ । नेपाल सरकारले नदिएको १ अर्ब रुपैयाँ दिनुपर्छ । जायज कुरा छ । कम्पनीको कार्यक्रमहरू हेरे तर कहीँ मधेसको नाम देखिन । अब समितिमा आउँदा मधेसको विषयमा केही कार्यक्रम लिएर आउनु होला । नत्र ठिक हुँदैन । मधेसमा गरिबी छ त्यही उत्पादन हुने ठाउँ छ । मधेसका जनतालाई सहुलियत चाहिँदैन ? मधेसमा त्यत्रो उत्पादन हुन्छ, कुल जनसङ्ख्याको करिब आधा मधेस प्रदेशमा बस्छन्, अनि सरकारी संस्थाले नै यसरी हेप्ने ? नेता र मन्त्री भर्ती केन्द्र बन्न भएन ।’
प्रतिनिधि सभाकी सांसद तथा समिति सदस्य रेखा यादवले पनि खाद्य कम्पनीले मधेस र अन्य ठाउँका जनतालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताए । उनले कम्पनीको समेत मधेसलाई हेर्ने दृष्टिकोण फरक किन भइरहेको छ ? भन्दै प्रश्न गरे ।
उनले धोती र कुर्ता लगाउनेले उब्जाएको खाएर स्वस्थ बन्ने तर मधेसको लागि सहुलियत लगायतका कार्यक्रम लैजान खाद्य कम्पनीलाई कसले रोक्यो ? भन्दै प्रश्न गरे । उनले खाद्य संस्थानले मधेसका किसानले उत्पादन गरेको धान नकिनेकाले भारतमा गइरहेको पनि बताए ।
उनले भने ‘खाद्य कम्पनीको मधेस र अन्य ठाउँका जनतालाई हेर्ने दृष्टिकोण कहिले परिवर्तन हुन्छ ? मधेसलाई किन हेर्ने दृष्टिकोण फरक छ । धोती र कुर्ता लगाउनेले उब्जाएको खाएर हेल्दि बन्ने तर मधेसको लागि सहुलियत लगायतका खाद्य कम्पनीले छुट्याएको के छ । कम्पनीको मागहरूमा सरकारसँग हामी पहल गर्छौं । तर कम्पनीले लगाउने चस्मा कहिले परिवर्तन हुन्छ । खाद्य संस्थानले मधेशका किसानले उत्पादन गरेको धान नकिनेकाले भारतमा गइरहेको छ । किसानहरूले रातीराती भारतमा सप्लाई गर्छन् । बयलगाढामा ५० क्विन्टलसम्म ओसारपसार गर्ने गर्दछ । गरिबीको मधेसमा कर्णालीको भन्दा पनि सूचांक कम रहेको भनेको छ । तर कम्पनीले मधेसमा सहुलियत र अभाव छैन भन्न सुहाउँदैन ।’
बैठकमा सांसद सीता मिजारले खाद्य कम्पनीले देशभरका गरेको काम सन्तोषजनक नभएको बताइन् । उनले खाद्य कम्पनीले जनतालाई खाद्य सम्बन्धी काम पारदर्शी र देखिने गरी गर्न आवश्यक रहेको बताइन् । उनले पोखरा लगायतका अन्य ठाउँका खाद्य कम्पनीका कर्मचारीहरूलाई कति कारोबार हुन्छ र कर्मचारी कति हुन्छन् भन्ने अपडेट समेत जानकारी नहुने गरेको बताइन् ।
उनले खाद्य कम्पनीले आफ्नो भवनहरू भाडामा लगाएर भाडा लिइरहेको पाएकाले कम्पनीको आम्दानीमा त्यो पनि देखाउन आवश्यक रहेको बताइन् । उनले सातै प्रदेशमा कम्पनीले गरेको आम्दानीको विषयमा पनि समितिलाई जानकारी दिन माग गरिन् ।
बैठकमा बोल्दै सांसद कान्तिका सेजुवालले स्थानीय तहहरूमा औद्योगिक ग्राम स्थापना गर्नका लागि सरकारले आवश्यक जग्गा खरिद गर्ने व्यवस्था गरिदिनुपर्ने बताए । उनले सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको भएपनि स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउन नसक्दा उक्त अवधारणा फेल हुने स्थितिमा पुगेको बताए ।
उनले स्थानीय उत्पादनको भण्डारण गर्न औद्योगिक ग्राम स्थापना गर्नु ठिक भएको बताए । उनले कार्यविधि संशोधन गरेर सरकारले जग्गा किन्ने वातावरण मिलाउनुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पछिल्लो समय दुर्गम क्षेत्रमा खाद्य अभाव हुने तर गोदाममा चामल कुहिएर बसेको भन्नेकुरा आएकाले सो विषयमा बढी ध्यान दिन आवश्यक रहेको बताए । उनले चामल नहुनु एउटा कुरा भएपनि भएर पनि उपभोक्ताहरू माझ नपुग्नु दुर्भाग्य भएको बताए । उनले खाद्यान्न भण्डारका विषयमा सहकारी र निजी क्षेत्र धेरै इच्छुक भएकाले सहकार्य गर्न आवश्यक देखिएको बताए ।
समिति बैठकमा सांसदहरूले खाद्य कम्पनीले दुर्गम क्षेत्रका पछिल्लो समय खाद्यान्न लगायतको क्षेत्रमा गरेको कामको भने प्रशंसा गरेका छन् । खाद्य व्यापार कम्पनीले जन्म र मृत्युको समयमा निःशुल्क खाद्यान्न वितरण गर्ने कार्य राम्रो भएको भन्दै त्यसबाट भएको उपलब्धिको विषयमा अनुगमन गरी थप नयाँ कार्यक्रमहरू ल्याउन पनि सुझाव दिए ।
सांसदहरूले सरकारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दिनुपर्ने १ अर्ब ४८ करोड ७७ लाख ९० हजार रुपैयाँ दिनुपर्नेमा जोड दिए । कम्पनीलाई सांसदहरूले खाद्यान्नको अभाव हुन नदिनको लागि स्थानीय तहहरूसँग मिलेर अगाडि नै धान,गहुँ खरिद गर्न सुझाव दिए ।