उत्पादनमूलक क्षेत्र : कोरिया जान पर्यो अहिलेसम्मकै धेरै आवेदन
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा आवेदन दिनेको संख्या १ लाख ६४ हजार भन्दा बढी पुगेको छ । ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ सम्ममा १ लाख ६४ हजार ३३६ जनाको आवेदन परेको हो ।
यो अहिलेसम्मकै धेरै आवेदन हो । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ । गत असारमा सिपबिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो । त्यसअघि साउनमा भएको सिपबिल्डिङका लागि ईपीएस परीक्षमा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।
त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन । परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउँनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो ।