कांग्रेसमा भागबण्डा मिलेन, शेखर–गगनले बोलाए छुट्टै बैठक

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

कांग्रेस स्रोतका अनुसार गठबन्धनको विहानको बैठक पछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो ।

पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु¥याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा प्राथमिकता दिने निर्णय गरेको थियो ।

भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिइने बैठकको निर्णय थियो । अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पार्टी निर्णय छ ।सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ ।

कांग्रेस स्रोतका अनुसार पार्टी भित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा समेत भएको थियो । शेखर–गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो । सभापति देउवा तिन जनाका लागि तयार भएका थिए ।

पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर–गगन विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेका छन् । देउवासँग कुरा नमिलेपछि आफ्नो समूहका शीर्ष नेताहरुलाई छलफलका लागि डाकिएको छ । शेखर–गगन पक्षका पदाधिकारी, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायतलाई बैठकमा बोलाइएको छ । आफ्नो समूहको बैठक बस्न लागेको संस्थापनइतरका नेता डा. गोविन्द पोखरेलले जानकारी दिए ।

कांग्रेसले आज नै कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दिउँसो १ बजेको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ ।

गठबन्धनका दलबाट कांग्रेसले १० उम्मेदवार राष्ट्रिय सभामा उठाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *