उम्मेदवार छनोटप्रति महामन्त्रीद्वय शर्मा र थापाको विमति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार छनोट गर्दा अपनाएको प्रक्रियाप्रति महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले असन्तुष्टि जनाएका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै उनीहरुले असहमति जनाएका हुन् ।
महामन्त्री शर्माले उम्मेदवार छनोट गर्दा पार्टी सभापति शेरबहादुर देउवा र संसदीय बोर्डले अपनाएको कार्यशैलीप्रति असहमति जाहेर गरे । उनले बोर्डमा राखेका असहमतिका ६ बुँदा यस्ता छन् :-
१) उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रष्ट असहमत
२) संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए बिधानमा किन राखेको ?
३) राष्ट्रियसभाकाे बिशिस्टता बढाउने कर्तब्य दलहरूकै होइन र ? काँग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४) समावेशीताको सिद्धान्त बिधानमा कि ब्यवहारमा ?
५) नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६) राष्ट्रियसभाकै नेतृत्व गर्ने गरि अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।
अर्का महामन्त्री थापालले २ बुँदे लिखित असहमति राखेका छन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।
यो पनि : कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, को-को परे ? (सूचीसहित)
महामन्त्री गगन थापाको फरक मत यस्तो छ :-
१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२/१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।
संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।
२.यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।
अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।
गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२