राष्ट्रियसभामा त पुग्न दिनुस् अध्यक्ष बन्ने/नबन्ने प्रश्नको जवाफ आउँछ : कृष्णप्रसाद सिटौला
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । नेता सिटौलाले सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगर पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार भएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रियसभा अध्यक्ष बन्ने नबन्ने कुरा तपसिल भएको बताए । ‘निर्वाचन परिणाम आएर राष्ट्रियसभामा पुगेपछि यी प्रश्नको स्वभाविक रूपमा जवाफ आउँछ,’ उनले भने ।
‘संसदमा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा काम गर्ने नेता सिटौलाले बताए । ‘साझा दृष्टिकोण लिएर संसद अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘मलाई पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर मलाई उम्मेदवार बनाएको छ ।’
उनले आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको बताए । उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेको विषयमा आफूलाई जानकारी नभएको उनको भनाई छ ।