नेपाल खेलकुदमा राम्रो सम्भावना बोकेको देश हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए । उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्नसक्ने बताए ।

उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण साबित हुने बताए । उनले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सीमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्त्व बहुआयामिक रहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोईराला क्रिकेट रङ्गशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताए ।

उनले भने ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन् । ती मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियाँमा बहुआयामिक सम्भावना भएको क्षेत्र हो । पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले यो यथार्थतालाई पुष्टि गर्दछ । मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको छु । देश भित्र र बाहिर विभिन्न प्रतियोगितामा विजयी हुनै खेलाडीलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ । मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रीपरिषद्को बैठकले मुलपानी मैदान तल्लो र मोरङको वैदनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोईराला क्रिकेट रङ्गशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गर्ने निर्णय गरेको थियो । नेपालको इतिहासमै एकैपटक तीन वटा रङ्गशालालाई राष्ट्रिय गौरवको रुपमा घोषणा गरिएको छ, यो गर्व र खुसीको कुरा हो । अब ती रङ्गशालाहरू निर्माण कार्यमा द्रुतता आउनेछ । अब खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सीमित रहेन । आजको संसारमा खेलकुदको महत्त्व बहुआयामिक छ । हाम्रो जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण आयाम हुनसक्छ । अन्तर्राष्ट्रिय कूटनीतिमा पनि खेल क्षेत्रको निकै ठूलो महत्त्व छ । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्न सक्दछन् । खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा होइन, राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *