दुई घरबाट साढे ९ तोला सुनसहित नगद चोरी
धनगढी । कैलालीमा चोरहरूको बिगबिगी बढेको छ । सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै चोरी हुनेक्रम बढेको हो ।
पौष २० गते चोरहरूले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आफ्नो घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको तीर्थराज न्यौपानेले बताएका छन् । ‘म बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको पाए,’ उनले भने, ‘प्रहरीलाई खबर गरे पनि अहिलेसम्म चोरी भएको सुन फेला परेको छैन ।’
साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको छ । यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो । गरगहना चोरी भएको विषयमा प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म खोजीकार्य नभएको थापाले गुनासो गरे । चोरले छड्के तिलहरी एक तोला, माइली तिलहरी पाँच आना, पाइप जन्तर ७ आना, झुम्का १२ आना, हार साढे एक तोला र रानी हार चार आना चोरी भएको छ ।
चोरले मोती क्लिक १५ आना, शिरबन्दी पाँच आना, टप तीन आना, औँठी ६ आना र बाला एक तोला घरभित्रैबाट गायब भएको थापाले बताए । न्यौपाने र थापा दुवै जनाले आफ्नो श्रीमतीका गरगहना हराएको भन्दै प्रहरी कार्यालय र नेपाल सुनचाँदी व्यवसायी महासंघमा समेत खोजीकार्यमा सहयोगका लागि निवेदन दिएका छन् । तर अहिलेसम्म चोरी भएका गहनाको विषयमा कहिँकतैबाट जानकारी नआएको दुवै जनाको गुनासो छ ।