माघे संक्रान्ति : पर्व एक, विशेषता अनेक

आज माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति । सूर्य धनु राशिबाट गोचर गरेर मकर राशिमा प्रवेश गर्ने दिन । वैज्ञानिक भाषामा भन्ने हो भने यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।

चिसोयाम सकिएर गर्मीयामलाई स्वागत गर्ने महिनाको रुपमा पनि व्याख्या गरिन्छ माघलाई । पौष महिनालाई अत्यधिक चिसो महिना भनेर चिनिन्छ । उक्त समयमा हाम्रा हातगोडा एवम् शरीरहरू चिसोले थलिएको हुन्छ । सोही चिसोलाई शरीरबाट घटाएर कम गर्न आजका दिनमा बिहान सबेरै उठेर तीर्थस्थान गरिन्छ, तीर्थ गई स्थान गर्न नसक्नेले घरमै नुहाइ-धुवाइ गरी घाममा बसेर तेलले शरीरमा मालिस गर्ने प्रचलन छ । यसो गर्दा शरीरको चिसो कम हुने साथै छालामा भएका रोगहरूबाट पनि मुक्ति मिल्छ भन्ने प्रचलन छ ।

आजको दिन कन्दमूल अर्थात् तरुल, घिउ, चाकु, तिलको लड्डु, फुलौरा, सेललगायतका मिठा मिठा परिकारहरू तयार गरी परिवारसहित भेला भई रमाइलो गर्दै खाने गरिन्छ । आज खाएको यी खानाले शरीरमा ताप दिने साथै पोषण लाग्ने मान्यता रहेको छ ।

बहुजाती, बहुधर्म एवम् समुदायको बाहुल्यता रहेको हाम्रो देशमा सबैले आ-आफ्ना महत्वका साथ मनाउने गर्दछ माघे सङ्क्रान्ति चाड । थारुहरूले माघी चाड भनेर मनाउने गर्दछन् । उनीहरुले आफ्नो ठूलो चाडको रुपमा माघीलाई मान्ने गर्दछन् । यस दिन उनीहरुले तरुल, खिचडी, तिल र चिउराको लड्डु र मिठा परिकारहरू बनाएर खाने गर्दछन् ।

थारु समुदायले मनाउँदै आएका विभिन्न चाडपर्वहरू सिरुवा/जुरसीतल पावैन, अखारही, गुरिया, रैब/अट्वारी, जितिया, डस्या, सुकराइत/देवारी, अष्टिम्की, समाचकेवा, होली/फागुईमध्ये एक विशेष पर्व माघी पनि हो । माघी पर्वलाई विभिन्न स्थानमा बस्ने थारु समुदायले आ-आफ्नो स्थानअनुसार माघ, माघी, तिला संक्राइत, खिचरा, खिचरी, खिचडी आदि नामबाट नामकरण गरेका छन् ।

यसैगरी नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । यसैदिन काठमाडौं उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला सुरु भएको मानिन्छ । यसैगरी मगर जातिहरूले यस पर्वलाई ३ दिनसम्म मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई ‘निस्रो’ थापेर पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान वनभोजको रुपमा कतै जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरू मिलेर तारो हान्ने चलन छ ।

माघीलाई विभिन्न समुदायले आ-आफ्नै तरिकाले राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने माग गरेका थिए । यसैक्रममा नेपाल सरकारले वि.सं. २०६५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरेको थियो । यस्तै थारु समुदायका अगुवाले माघीलाई थारुको पर्व भनेर मान्यता दिनुपर्ने माग गर्दै सङ्घर्ष गरेपछि २०६८ सालमा मन्त्रिपरिषद्ले माघीलाई थारुको पर्व भनेको थियो ।

त्यसको लगत्तै सरकारले २०६८ पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मगर, थारुको मात्रै नभई छन्त्याल जातिको पर्व पनि माघी भएको मान्यता दिएको थियो । माघीलाई थारुले नयाँ वर्ष र स्वतन्त्रताको अवसरका रुपमा मनाउँछन् । केही वर्ष पहिले मालिकको घरमा एक वर्षका लागि राखिएका कमैयाहरू मालिकबाट बिदा लिन चाहेमा माघीमा घर जान पाउने प्रचलन थियो । कमैयाबाट फुकुवा भएर घर फर्कन पाउने भएकोले उनीहरुले हर्षका साथ यो पर्व मनाउने गरेको भन्ने मान्यता पनि रहेको छ ।

माघे संक्रान्तिलाई विभिन्न नामकरण गरिए पनि यो सबैको सामूहिक चाड हो । नेवारहरूले यसलाई घ्यू चाकु संल्हूका रुपमा मनाउँछन् । मगरहरूले मार्हाङ याक (खुसीको दिन) वा माघे सकराटी, कतै मिनम ल्हेस (नयाँ वर्ष), कतै सार ल्हेस भनेर मनाउँछन् । थारुहरूले माघी, हिन्दु धर्मावलम्बीहरूले मकर सङ्क्रान्तिको रुपमा यस चाडलाई धूमधामका साथ मनाउने गर्दछन् । नेपालमा यो चाडलाई विभिन्न जातजातिले फरक फरक तरिकाले मनाउने भएकाले कुनै एक जाति विशेषले हाम्रो मात्रै पर्व हो भन्नु मुनासिब देखिँदैन ।

पछिल्लो समय कुनै पनि चाडलाई आफ्नो परिवारसँग मात्र बसेर मनाउने भन्दा पनि आफ्ना जातीय समुदायमा उत्सवको आयोजना गरी मनाउने ‘ट्रेण्ड’ चलेको छ । सोही ‘ट्रेण्ड’ लाई ‘फलो’ गर्दै यस दिन थारु जातीहरूले विभिन्न स्थानहरूमा धूमधामका साथ माघी उत्सवको आयोजना गर्दछन् । यस्तै मगर जातीहरूले पनि सारल्हेस उत्सवको आयोजना गरी समुदायमा ‘सेलिब्रेट’ गर्दछन् । यी जातीहरू आ-आफ्ना भेषभुषामा सजिएर आफ्ना जातीय परिकारहरू बनाइ उत्सवमा प्रदर्शन साथै बिक्री वितरण गर्ने गर्दछन् ।

उत्सव आयोजनाका लागि महिनौँदेखि योजना बनाइ उत्सव भव्यताका साथ सम्पन्न गर्न सबै समुदाय खटिन्छन् । यसले हाम्रो संस्कृतिप्रतिको प्रेम बढ्नुका साथै संस्कृति पुस्तान्तरण हुनमा मद्दत पुग्दछ । उत्सवले संस्कृतिको जगेर्ना गर्न मद्दत गरोस् । देखासिकी गर्दै चाडलाई तामझामका साथ मनाउने भन्दै संस्कृतिलाई परिवर्तन गर्ने कार्य नहोस् । चाड भड्किलो नहोस् । यसमा हामी सचेत हुन भने जरुरी छ । जसले जुनसुकै नामले यस चाडलाई मनाए पनि यस चाडको मर्म सबैको एउटै देखिन्छ । चाडपर्वले सबैमा भाइचाराको विकास गराओस् । सबैमा माघे सङ्क्रान्तिको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *