हिमालयन बैंकको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको एकतीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
आइतबार बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैक तथा यसका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको जानकारी गराए ।
साथै उनले सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्तगर्ने प्रक्रियामा रहेको जानकारी दिए ।
उनले बैंकले आ.व. २०७९/०८० को अन्त्य सम्म प्राप्ति सहित रु। २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप सङ्कलन र रु। २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराए जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो ।
उनले विश्वका आर्थिक, सामाजिक तथा भू—राजनीतिक घटनाहरूका कारण हाल यस बैंक तथा सम्पूर्ण बैङ्किङ क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए ।
उक्त साधारण सभाले बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अङ्कित मूल्यमा प्रिमियम थप गरी साधारण शेयर थप सार्वजनिक निष्कासन गर्ने तथा उक्त थप सार्वजनिक निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
उक्त सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएको तथा सर्वसाधारण शेयरधनीको तर्फबाट श्री आशिष शर्मा निर्विरोध निर्वाचित हुनु भएको तथ्य निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
त्यसैगरी बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले नव नियुक्त सञ्चालकहरू मध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।
नवनिर्वाचित सञ्चालकहरूलाई बधाई दिँदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्री श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरूलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।