पुनर्निर्माण गरेर मात्रै भूकम्पबाट बाँच्न सकिँदैन !
विभिन्न प्राकृतिक प्रकोपहरू मध्ये भूकम्प पनि एक हो । नेपालको इतिहासलाई हेर्दा वि.सं. १८९०, १९९०, २०४५ र २०७२ सालको भूकम्पलाई सर्वाधिक विनाशकारी भूकम्प मानिन्छन् । यी भूकम्पहरूमा धेरै धन र जनको क्षति भएको थियो । वि.सं २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि १५७ को मृत्यु र १६६ जना घाइते भएका थिए ।
विभिन्न कालखण्डमा गएका ती भूकम्पहरूका तिता सम्झनाहरू अझै हाम्रा मस्तिष्कबाट हराएका छैनन् । हाम्रा परिवारका सदस्य, आफन्त, छरछिमेक र साथीभाइलाई गुमाउनु परेको पिडा कम भएका छैनन् । कम होस पनि कसरी हाम्रा सरकारसँग भूकम्पबाट हुने भौतिक र मानवीय क्षति कम गर्ने कुनै ठोस योजना र कार्यक्रम छैन । यसबारे अध्ययन र अनुसन्धान छैन । त्यसैले विभिन्न भूकम्पबाट बाचेका हामी अर्को भूकम्पमा ज्यान गुमाउन साँचिएका छौँ ।
वि.सं २०७२ सालको भूकम्प अघि विभिन्न सङ्घसंस्था, क्लब र सरकारले नै विद्यालयहरूमा, गाउँ, सहर र टोलटोलमा भूकम्पका सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर ७.८ रेक्टरको भूकम्प जाँदा ती सङ्घसंस्था, क्लब र सरकारले सिकाएका भूकम्पबाट बच्ने उपायहरू कुनैपनि सफल भएनन् । अब विद्यालय, टोलटोलमा भूकम्पबाट जोगिने यस्ता कुनै उपायहरू सिकाएको देखिदैन् । यद्यपि सरकारले भूकम्पबाट बच्ने उपायहरूबारे अध्ययन र अनुसन्धान गर्न आवश्यक छ ।
यदि कुनै व्यक्तिलाई ‘तपाई घरभित्र हुँदा भूकम्पले तपाईँको घर भत्कियो भने के गर्ने ?, भनेर प्रश्न गर्यौ भने त्यो व्यक्तिलाई जवाफ दिन गाह्रो नपर्ला । र उक्त जवाफ हामीलाई थाहा छ ।
उदाहरण पछिल्लो समयको जाजरकोट भूकम्प हुनसक्छ । कात्तिक १७ गते गएको जाजरकोट भूकम्पमा सरकारको ध्यान राहत वितरणमा मात्र केन्द्रित भयो । त्यसपछि अब पुननिर्माणमा । के अब बन्नलागेका भौतिक संरचनाहरू भूकम्प प्रतिरोधिपूर्ण छन् ?, ती संरचनाहरूमा हामी ढुक्क भएर निदाउन सक्छौँ ?, सरकारको मापदण्ड विपरीत बनेका तर भूकम्पमा नभत्केका घरहरूलाई चैँ के गर्ने ?, अर्को भूकम्प पर्खने ?, विदेशमा भूकम्पीय क्षति कम गर्न के कस्ता संरचनाहरू बनाइएका छन् ?, हामीले उनीहरूको सिको गर्नुपर्दैन ?, या उनीहरू भन्दा अझ राम्रो उपायहरू निकाल्न सक्छौँ कि ?, यसबारे छलफल र चर्चा हुन आवश्यक छ ।
हालसम्म भूकम्प पश्चात् सरकारले गरेको काम भनेको भूकम्पीय क्षतिको अवलोकन, क्षतिपूर्ति र राहत वितरण हो । तर यी कामहरू मध्ये भूकम्पीय क्षतिको न्यूनीकरणको उपाय कुनैपनि होइन । भनिन्छ, दुर्घटना बाजा बजाएर आउदैन् तर उक्त दुर्घटनाबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्न सकिन्छ । तर अफसोस नेपाल सरकारसँग पूर्वतयारीका यस्ता कार्यक्रमहरू नै छैनन् ।
हुन त भूकम्पबाट ठूला र विकसित देशहरूमा पनि अझै भौतिक र मानवीय क्षति हुने गरेका छन् । यसअघि मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्पमा परेर ४ दिनमा ९२ जनाले ज्यान गुमाएका थिए । त्यसो भए भूकम्पमा ज्यान गुमाउनु अवश्य हो त ?, हाइन् । डाक्टरलाई रोगको उपचार थाहा छैन भन्दैमा त्यसको उपचार नै छैन भन्न मिल्दैन । त्यसको उपचार पत्ता नलागेको हुनसक्छ । हरेक समस्याको समाधान भने अवश्य हुन्छ ।
त्यसैले सरकारले ठूला देशहरूको नकल गर्ने मात्र होइन, आफै समाधान खोज्न तर्फ लाग्नुपर्छ । सरकारले यस्ता कुरामा ध्यान दिन आवश्यक छ नत्र अब आउने भूकम्पहरूमा हामीलाई आफ्नै जिउको सुरक्षा गर्न मुस्किल पर्ने देखिन्छ । भूकम्पीय क्षति न्यूनीकरणको उपायहरू पत्ता लगाउनु सरकारको कर्तत्वय र दायित्व हो ।