सांस्कृतिक गाउँ निर्माण गर्न ड्राफ्ट तयार पारिसकेका छौँ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताएका छन् ।
बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए । उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे ।
उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए । उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए ।
उनले भने ‘हामीले कार्यक्रममै नभएको आज भन्दा ३५ सय वर्षअघिका बस्तीहरू कस्ता थिए ? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्नेकुरा प्रमाणित भइसकेको छ । हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ । पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएका छौँ । सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ । पर्यटन दशकलाई अझ तीव्र बनाउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ । त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ । नीतिको कुरा छँदै छ । पर्यटन ऐन, हाम्रो संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुछ । त्यो भन्दा ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब हामी १ वर्षदेखि उताको काम उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्दैछौँ ।’
मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए ।